जुम्लाका स्याउ उत्पादक किसानहरु बाली बीमातर्फ आकर्षित

140
  •  
  •  
  •  

काठमाडौं १० कात्तिक (ओएनएस) : जुम्लाका स्याउ उत्पादक किसानहरु बाली बीमातर्फ आकर्षित हुन थालेका छन् ।
सरकारले कृषि बीमा गर्न चाहने किसानले बीमा बापत तिर्नु पर्ने प्रिमियम रकमको ७५ प्रतिशतसम्म अनुदान दिने भएपछि किसानहरु बीमा गर्ने विषयमा छलफलमा जुटेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७१÷०७२ को बजेट बक्तव्य मार्फत  बीमा बापत कम्पनीलाई तिर्नु पर्ने प्रिमियम रकमको ७५ प्रतिशत अनुदान दिने घोषणा गरेको थियो । बीमा गरेपछि उक्त बाली क्षति भएमा बीमा कम्पनीले ९० प्रतिशतसम्म क्षतिपुर्ति दिने भएपछि किसानहरु सामूहिक रुपमै स्याउ बालीको बीमा गर्ने तयारीमा छन् ।

सूर्य सामाजिक सेवा संघ फोरएस जुम्लाले जिल्ला कृषि विकास कार्यालय जुम्लासँगको समन्वयमा किसानलाई स्याउ बालीको बीमा गर्ने विषयमा अभिमुखिकरण गराएको थियो ।
चन्दननाथ नगरपालिका वडा नम्बर ३ भण्डारी गाउँमा रहेको रारा स्याउ व्यवस्थापन कृषक समूहले बीमाका लागि चासो देखाएको हो ।

कम्तिमा फल्ने स्याउ २५ वटा भएको बगैंचाको बीमा गर्ने निर्णय भएको अध्यक्ष दिपबहादुर मल्लले जानकारी दिए । समूहले स्याउ, धान तथा पशुको बीमा गराउन चाहने किसानलाई आगामी बिहीबारसम्ममा सम्पर्क राख्न भनेको छ ।

जलवायु परिवर्तन तथा अन्य प्राकृतिक प्रकोपका कारण स्याउबालीमा क्षति पुगेमा किसानलाई राहत होस् भन्ने उद्देश्यले बीमाका बारेमा छलफल गरेको फोरएस जुम्लाका जलवायु सुहाउँदो कृषि कार्यक्रमका संयोजक सतानन्द उपाध्यायले जानकारी दिए ।


  •  
  •  
  •