महोत्तरी, ८ पुस (ओएनएस) : युनिसेफ, युएन ह्याबिटेटसहितका दातृ संस्थाहरुले महोत्तरीमा संचालन गरिरहेको खुल्ला दिसामुक्त क्षेत्र कार्यक्रमका आवधिक प्रतिवेदनहरु अझैसम्म जिल्ला बिकास समिति र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसँग नरहेको खुलासा भएको छ ।
विभिन्न संस्थाहरुले दातृ संस्थाहरुको सहयोगमा जिल्लाको ५४ गाउँ बिकास समितिमा खुल्ला दिसामुक्त क्षेत्र अभियान संचालन गरिरहेपनि त्यसको प्रगति विवरण सरोकारवालाहरुसँग नरहेको जिल्ला बिकास समितिका अधिकृत एवं जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समितिका फोकल पर्सन मिश्रीलाल यादवले बताए ।
आफ्नो कार्यालयको अनुमतिमै विभिन्न दातृ संस्थाको सहयोगमा गैरसरकारी संस्थाहरुले कार्यक्रम संचालन गरिरहेपनि प्रगति प्रतिवेदन बुझाउन आनाकानी भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख रामबाबु यादवले बताए ।
खुल्ला दिसामुक्त क्षेत्र कार्यक्रमअन्तर्गत मानिसले आफ्नै लगानीमा शौचालय बनाउनुपर्ने दवाव बढाइरहेकै बेला युनिसेफकै सहयोगमा जिल्लाको १० वटा गाउँ बिकास समितिमा संचालित सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत सित्तैमा शौचालय बनाइदिने कार्यक्रम चलाउनुले अभियान नै प्रभावित भएको प्रमुख यादवले गुनासो गरे ।
सुनौलो हजार दिन कार्यक्रमबारे स्थानीय बिकास अधिकारी रामुराज कडरियालाई मात्रै जानकारी रहेको छ । धिरापुर गाउँ बिकास समितिका सचिव राजेश शर्माले नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको कार्यक्रमअन्तर्गत जलेश्वर मटिहानी सडक खण्डमा होडिङ्ग बोर्ड राखिएपनि अन्य गैरसरकारी संस्थाहरुले लक्षित गाउँ बिकास समितिहरुमा यस्तो बोर्ड अझैसम्म नराखेको बताए । जिल्लालाई सन् २०१५ भित्रै खुल्ला दिसामुक्त घोषणा गर्नुपर्ने प्रतिबद्धता सबै सरोकारवालाहरुले जनाइसकेको छन् ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख चन्द्रकुमारी ब्यञ्जनकारले सघन साक्षरता कार्यक्रम, महिला तथा लैंगिक हिंसाबिरुद्धका कार्यक्रमहरुसँगै खुल्ला दिसामुक्त क्षेत्र कार्यक्रम जोड्न सकिए समयमै लक्ष्य प्राप्ती हुनसक्ने जनाउँदै सरोकारवालाहरुबीच समन्वयको अभावका कारण समस्या थपिदै गएको बताए ।