विकास निर्माणको ठेक्कापट्टा तत्काल अघि बढाउन विकास समितिको निर्देशन

109
  •  
  •  
  •  

काठमाडौँ, २२ पुस (ओएनएस) : व्यवस्थापिका संसदको विकास समितिले स्थानीय स्तरमा हुने ठेक्कापट्टामा ढिलाई भएको भन्दै तुरुन्त अघि बढाउन सम्बन्धि मन्त्रालयलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले विकास निर्माणका ठेक्कापट्टा तथा टेन्डर प्रक्रियामा ढिलाई भएको देखिएकोले स्वीकृत कार्यक्रमहरुको  प्रक्रिया तुरुन्त अगाडि बढाउन संघीय मामिला तथा स्थानीय मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै समितिले स्थानीय स्तरमाहुने पूर्वाधार विकास निर्माणका कार्यक्रमहरुको वर्गीकरण गरी योजना तर्जुमा गर्न जिल्ला विकास समितिको कार्यलयमा विषयगत शाखाहरुको सृजना गरी तत्काल कार्यान्वयनमा लैजान पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले विकास निर्माण कार्यको अनुगमन गर्न सम्बन्धित जिल्लाको प्रतिनिधित्व गर्ने सांसदको नेतृत्वमा अनुगमन गर्ने व्यवस्था मिलाउन तथा सो सम्बन्धी कानुनी व्यवस्थालाई तत्कालै प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ ।

हालै घोषणा भएका नगरपालिकाहरु सहितका स्थानीय निकायहरुमा सेवाविस्तार गरी स्थानीय निकायको विकासलाई तिव्रता दिन सम्पूर्ण मन्त्रालयहरुलाई विषयगत सेवा केन्द्रहरु खोली तत्कालै सेवा सञ्चालन गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।

कार्यबोझ बढि भएको स्थानीय निकायमा कार्यबोझ अनुसार संस्थागत संरचनाको विस्तार गर्न, स्थानीयमागको मूल्याङ्कन गरी आवश्यकता अनुसार बजेटको व्यवस्थापन गर्न, कर्मचारीको कार्यसम्पादनको आधारमा राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो कामगर्नेलाई कार्यवाही गर्न समितिले निर्देशन दिएको छ ।


  •  
  •  
  •