ठगीको सूचना दिने व्यक्ति नै ठग

159
  •  
  •  
  •  

काठमाडौ, ३ बैशाख : अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै ठगी गरेको घटनामा अनुसन्धान गर्दै जाँदा राष्ट्रिय अनुसन्धान विभागका सूचकले नै पीडितसँग चार लाख रुपैयाँ मागेको पाइएको छ।

गत फागुन २६ गते धुम्बाराहीका सुजन महर्जनलाई डलर देखाएर आठ लाख रुपैयाँ ठगी फरार भएकाको फोटोसमेत देखाएर सूचक चन्द्रप्रकाश राईले पीडित र पीडक दुवैसँग पैसाको ‘बार्गेनिङ’ गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले राई र डलर ठगीमा संलग्न ६ जनालाई चाबहिलबाट पक्राउ गरेको छ। राईले महर्जनलाई ‘म प्रहरी इन्स्पेक्टर हुँ, तपाईंलाई ठगेको घटनाको अनुसन्धान मैले गरिरहेको छु, ठग्ने यिनीहरू नै हुन् कि होइनन्’ भन्दै फोटो देखाएर प्रभावमा परेका थिए।

राईले पैसा फिर्ता गर्ने आश्वासनमा अनुसन्धानका लागि खर्च हुन्छ भन्दै महर्जनसँग ५० हजार रुपैयाँ लिएका थिए। राईले ठगीका अभियुक्त फेला परेपछि चार लाख रुपैयाँ आफूलाई दिनुपर्ने भनेर महर्जनसँग बार्गेनिङ गरेका थिए।

महाशाखाले ठगीका अभियुक्त पक्राउ गरेर अनुसन्धान गर्दा राई प्रहरीको इन्स्पेक्टर नभएर गुप्तचरका सूचक रहेको तथ्य खुलेको हो।

महाशाखाका डीएसपी वसन्त रजौरेका अनुसार पक्राउ पर्नेमा राईसँगै खोटाङका श्रीप्रसाद राई, सिन्धुपाल्चोकका छिरिङ तामाङ, केदार लामा, ताराबहादुर थिङ, मानबहादुर तिमल्सिना र काठमाडौं शंखरापुर नगरपालिकाका टीकाराम स्याङ्बो छन्।

प्रहरीले उनीहरूबाट ३० हजार दुई सय अमेरिकी डलर, १६ वटा मोबाइल र मोटरसाइकल बरामद गरेको छ।
– अन्नपूर्ण पोष्टबाट


  •  
  •  
  •