काठमाडौँ, ३० मंसिर (ओएनएस) : सरकारले यातायातका साधनबाट निष्कासन हुने फोहरमैला नियन्त्रण गर्ने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले सूचना जारी गर्दै सवारी साधनबाट सार्वजनिक स्थल र सडकमा फ्याँक्न फोहर पुस १ गतेदेखि निषेध गर्न लागेको हो ।सवारी साधनबाट थुकेमा ५ सय जरिवाना तथा फोहर फ्याँकेमा ५ सय देखि पाँच हजार रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद गरिने केन्द्रले जनाएको छ ।
वातावरणलाई असर पार्ने सामग्री फालेको पाइएमा १ लाख रुपैयाँ जरिवाना गर्न सकिने फोहरमैला व्यवस्थापन ऐनमा व्यवस्था छ ।
मन्त्राय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच मंसिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो ।
सवारीबाट यात्रा गर्दा सार्वजनिक स्थल तथा सडकमा कुनै पनि फोहरजन्य पदार्थ (प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज आदि) जथाभावी फाल्दा फोहर भई वातावरणमा समेत प्रभाव परेकाले निषेध गरिएको सूचनामा उल्लेख छ ।
प्रत्येक सवारीमा ३० माइकोनमाथिको पोलिथिन थैलो वा डस्टविन राख्न पनि निर्देशन दिइएको छ ।