काठमाडौं, २९ जेठ (ओएनएस): सरकारले चालु आर्थिक वर्षको अन्य सम्ममा मुल्यवृद्धिलाई एक अंकमा नै कायम राख्ने भनिरहेको बेलामा मुल्यवृद्धि सूचक भने दोहोरो अंकको नजिक आइपुगेको छ । आर्थिक वर्ष २०७०।७१ को वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति ९.७ प्रतिशत पुगेको छ । गत वर्ष सोहि महिनामा यस्तो वृद्धिदर ८.७ प्रतिशत मात्र थियो ।
नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको १० महिनाको आर्थिक स्थितिअनुसार चालु आ.व.को १० महिनासम्म आईपुग्दा खाद्य तथा पेश पदार्थको मुल्य सूचकांकको वृद्धिदर १२.९ प्रतिशत रहेको छ भने गैर खाद्य तथा सेवा समुहको मूल्य सूचकांकको वृद्धिदर ७ प्रतिशत मात्र रहेको छ ।
क्षेत्रगत आधारमा तराईमा सबैभन्दा बढि मूल्यवृद्धि भएको छ । तराईमा १०.४ प्रतिशतले मूल्य बढेको छ भने काठमाडौंमा ९.९ र पहाडमा ८.६ प्रतिशत मात्र रहेको छ । राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै मुल्यवृद्धि खाद्य तथा पेश पदार्थको उपसमूह तरकारीमा देखिएको छ । तरकारीमा मात्रै ३१.६ प्रतिशतले मुल्य बढेको छ । त्यसैगरि सूर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थ उप समुहको मुल्य सूचकांक समीक्षा अवधिमा क्रमश: २५.३ र २२.५ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा गैर खाद्य तथा सेवा समुहका वस्तुहरुमध्ये लत्ता कपडा तथा जुत्ता चप्पल उप समूहको मुल्य सूचकांकमा सबैभन्दा बढि अर्थात ११ प्रतिशतले वृद्धि भएको छ ।
विवरणअनुसार थोक मुद्रास्फीतीमा पनि वृद्धि हुँदै ९.१ प्रतिशतमा रहेको छ । गत वर्षको सोहि अवधिमा थोक मुल्यवृद्धि दर ८.२ प्रतिशत रहेको थियो । थोक मुल्यअन्तरगत पनि कृषिजन्य वस्तुहरुको आर्थिक वृद्धिदर सबैभन्दा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ ।