काठमाडौं, २३ भदौ (ओएनएस) :काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न ठाउँमा सोमबार इन्द्रजात्रा हुँदैछ ।
काठमाडौँको हनुमानढोकामा इन्द्रजात्राका लागि रथयात्राको तयारी पूरा भइसकेको गुठी संस्थानले जनाएको छ । वसन्तपुर दरबार तथा सो आसपास क्षेत्रमा रङरोगन गरी बेहुली झै सिँगारिएको छ । अघिल्लो दिन इन्द्रध्वजा फहराइएपछि यस वर्षको इन्द्रजात्राका विभिन्न गतिविधि सुरु भएका छन् ।
प्रत्येक वर्ष भाद्रकृष्ण द्वादशीका दिन इन्द्रध्वजा फहराइएपछि हनुमानढोका तथा सो आसपास क्षेत्रका टोल टोलमा रौनक बढेको छ । स्थानीय टोल टोलमा राखिएका श्वेत भैरव, काल भैरव र इन्द्रको दर्शन सर्वसाधारणलाई खुला गरिएकाले भक्तजनको चहलपहल बढेको छ ।