काठमाडौं, १३ साउन (ओएनएस) : साउन १८ गते दुई दिने नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आएकै दिन संसदमा संवोधन गर्ने तय भएको छ । । यसका लागि संसद सचिवालयले विशेष व्यवस्था गर्न गृहकार्य थालेको छ ।
संसद सचिवालयले मोदीलाई कसरी संसदमा प्रवेश गराउनेदेखि सम्बोधनका विषयमा अध्ययन गर्न अध्ययन टोली नै गठन गर्ने तयारी गरेको छ । मोदीको सम्बोधनलाई व्यवस्थित बनाउन सचिवालय र भारतीय दुतावासका कर्मचारी सम्मिलित एक अध्ययन टोली गठन गरिने भएको हो ।
मोदी भुटानमा रहँदा भुटानको संसदलाई सम्बोधन गर्ने क्रममा भुटानको ठाँउमा नेपाल शब्द्ध प्रयोग गरेका थिए । नेपाल भ्रमणकाक्रममा त्यस्तो नहोस भनेर मोदीले संसदमा लिखित संबोधन गर्ने व्यवस्था मिलाइएको छ ।
मोदी संसदमा प्रवेश गर्दा राष्ट्रपति कै शैली अपनाउने व्यवस्था गरिने भएको छ । मोदीलाई बस्नकोलागि रोष्ट्रमको नजिकै आशनको व्यवस्था गरिने भएको छ । सरकारले सोको जानकारी मंगलवार व्यवस्थापिका संसदलाई गराएको छ । मोदी संसदमा प्रवेश गरेपछि सभामुखले करिब १५ मिनेट औपचारिक कुराकानी गर्नेछन् । कुराकानी समाप्त भएसँगै संसदको कारवाही सुरु हुने छ ।