प्रधानमन्त्री दैवी राहत कोषमा भारतीय कम्पनीको करिब ५३ लाख सहयोग

279
  •  
  •  
  •  

sanofi help for nepalकाठमाडौँ, ४ मंसिर(ओएनएस) : भारतको नाकाबन्दीबाट अति आवश्यकीय औषधी नाकामा रोकिएका बेला भारतीय औषधी कम्पनीले नेपाललाई सहयोग गरेको छ ।

भ्याक्सिन र औषधि उत्पादन गर्ने कम्पनी सनोफीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार राहत कोषमा आज ५२ लाख ८७ हजार १ सय ४२ रुपियाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान कम्पनीका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत वापतको चेक हस्तान्तरण गरिएको हो ।

यसअघि उक्त कम्पनीले भूकम्प पीडितका लागि नेपाल सरकारलाई करिब साढे ७ करोड रुपियाँ बराबरको औषधि र अन्य सहयोग गरेको थियो ।

प्रधानमन्त्री ओलीले चेक बुझ्नु हुँदै भूकम्प पीडित नेपाली जनताको सहयोगका लागि कम्पनीले गरेको आर्थिक सहयोग र सहानुभूतिको प्रशंसा गरे । उनले सिमामा नाकाबन्दीका कारण औषधि जस्ता अत्यावश्यक वस्तुहरु रोकिएका र इन्धन अभावले नेपालीहरुले विभिन्न खालका समस्या बेहोरिरहेको बेला कम्पनीको सहयोग र सदभावले आफ्नो मन छोएको बताए ।

प्रधानमन्त्रीले हडताल, बन्द र नाकाबन्दीका कारण स्वास्थ्य संस्था र बिरामीहरु, एम्बुलेन्सहरु, विद्यालय र स–साना विधार्थीहरु समेत गम्भीर मर्कामा परेको उल्लेख गरे ।


  •  
  •  
  •