मोदीलाई तीन सन्देश बोकेर फर्किदै विदेश सचिव जयशंकर

176
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशसहित नेपाल आएका भारतीय विदेश सचिव सुब्रमन्यम जयशंकर मोदीलाई नयाँ सन्देश लिएर पनि स्वदेश फर्किदैछन् ।

दुई दिनको बसाईका क्रममा राजनीतिक भेटघाटपछि उनी प्रधानमन्त्री मोदीलाई तीन वटा सन्देश लिएर फर्किन लागेका हुन् । नेपालको राजनीतिक अवस्था, भारतीय सहयोगको सदुपयोग र संयुक्त राष्ट्रसंघको स्थायी सदस्यमा सहयोग तीन वटा सन्देश लिएर जानेछन् । उनले सबै राजनीतिक भेटवार्तामा तीन वटै विषय छलफलका लागि अघि सारेका थिए ।

शुक्रबार मध्यान्ह प्रधानमन्त्री सुशील कोइरालासँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा पनि उनले तीन वटै विषयमा कुरा राखेका थिए । भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा सहमतिबाटै संविधान निमार्णका लागि दहरुबीच छलफल जारी रहेको बताएका थिए ।

भारतीय विदेश सचिव जयशंकरले संयुक्त राष्ट्रसंघको स्थायी सदस्यमा भारतको उम्मेदवारीलाई समर्थन गर्न विषेश आग्रह गरेका थिए । आफुले भारत पुगे लगत्तै प्रधानमन्त्रीलाई नेपालको भेटवार्ताबारे जानकारी गराउने पनि बताए ।

शुक्रबार नै एमाले नेतृत्वसँग पनि छलफल गरेका छन् । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको भेटमा नेपालको शान्ति प्रक्रिया संविधान निर्माण लगायत समसामयिक विषयमा छलफल भएको छ ।

करिब एक घण्टा भएको भेटमा एमाले अध्यक्ष ओलीले एमाओवादीका कारण संविधानका अन्तर्वस्तुमा सहमति हुन नसकेको बताए । भेटमा भारतीय विदेश सचिव जयशंकरले छिटो संविधान बनेर राजनीतिक स्थायित्व कायम भई नेपाल विकासमा अघि बढेको हेर्ने भारतीय चाहना रहेको बताएका छन् ।

बिहीबार आएका भारतीय विदेश सचिव जयशंकरले शुक्रबार नै राष्ट्रपति डा. रामबरण यादवसँग छलफल गरेका छन् । बिहीबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, कामु परराष्ट्र सचिव शंकरदास बैरागी र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।


  •  
  •  
  •