नेपालमा भारतीय ५ सय र १ हजारका नोट चल्ने

303
  •  
  •  
  •  

indian-money-notesकाठमाडौ, १० माघ(ओएनएस) :  भारतले नेपालमा ५ सय र १ हजारका नोट ल्याउन दिने भएको छ । बिहिबार पुरानो नियम परिवर्तन गर्दै भारतीय रिजर्व बैंकले नेपालसहित भुटानमा ५ सय र १ हजारदरका नोट खुल्ला गरेको हो ।

भारतीय रिजर्व बैंकले एक पटकमा २५ हजार भारतीय रूपैयाँसम्म नेपाल छिर्न दिने बताएको छ । रिजर्व बैंकले जारी गरेको सुचनामा भारतबाट नेपाल र भुटान यात्रा गर्नका लागि हुने अप्ठ्यारो हटाउनका लागि यस्तो छुट दिइएको जनाएको छ ।

भारतले ठुला नोटमा सीमा लागू गरेपनि १ सय रूपैयाँसम्मका भारीय नोट जति पनि नेपाल भित्राउन सकिने छ ।

भारतीय केन्द्रीय बैंकले ठुला दरका नोट नेपाल ल्याउन पाइने जानकारीसहितको पत्र शूक्रबार राष्ट्र बैंकले पाएको थियो । २०५७ असार १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर ५ सय र १ हजार दरको भारतीय नोटलाई नेपालमा प्रतिबन्ध लगाइएको थियो । राजपत्रमा लगाइएको रोक खुलाएर परिपत्र जारी गरेपछि नेपालमा कारोबार सुरू हुनेछ ।

यो व्यवस्थाले भारतमा काम गर्ने नेपालीलाई घर र्फकंदा पैसा ल्याउन केही सहज हुने भएको छ । ठूला दरका नोट ल्याउन नपाउँदा साट्न र बोक्न समस्या थियो । करिब ४० लाख नेपाली भारतमा रोजगारीका लागि रहेको अनुमान गरिन्छ । साना दरका धेरै नोट बोकेर नेपाल भित्रिने कामदार लुटिने समस्या पनि देखिँदै आएको छ ।

यसका साथै भारतबाट नेपाल घुम्न आउने पर्यटकलाई पनि ठूला भारु नोट चलेपछि सजिलो हुनेछ । गत आर्थिक वर्षमा करिब ६७ हजार भारतीय पर्यटक काठमाडौं घुम्न आएका थिए । पछिल्लो समय भारतले लुम्बिनीसहित बुद्धिस्ट सर्किट निर्माणको काम अघि बढाउने बताइरहँदा नेपाल आउने पर्यटकको संख्या थप हुने देखिन्छ ।


  •  
  •  
  •