ऋण सक्न आयोजना छनौट अन्तिम चरणमा

162
  •  
  •  
  •  

nepal indiaकाठमाडौं ५ कात्तिक : भारतले सहुलियत दरमा उपलब्ध गराउने भनेको ऋण रकमबाट निर्माण गरिने आयोजनाहरुको छनौटलाई छिट्टै अन्तिम रुप दिइने अधिकारीहरुले बताएका छन् । मोदीले गत अगष्टमा झण्डै १ खर्ब रुपैयाँ बराबरको सहुलियत ऋण नेपाललाई दिने घोषणा गरेका थिए ।

अर्थ मन्त्रालयका एक अधिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोभेम्बर महिनामा सार्क सम्मेलनका लागि नेपाल आएका बेला सम्झौता गर्ने गरी तयारी भईरहेको बताए । झण्डै १ खर्ब रुपैयाँ बराबरको उक्त ऋणबाट राम्रो प्रतिफल दिने ठूला आयोजनाहरु छनौट गर्ने सरकारी तयारी भईरहेको बताइएको छ ।

ऋणको सम्झौता प्रक्रियासँगै सरकारले आयोजना छनौट प्रक्रियालाई पनि अगाडि बढाएको छ । अब त्यसका लागि कानूनी परामर्श र सम्भावित आयोजना भएका मन्त्रालयसँग छलफल भईरहेको बताइएको छ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख मधु मरासिनीले ऋणको सम्झौताका लागि भारत सरकारले पठाएको प्रस्तावमा नेपाल सरकारले आफ्ना धारणा र त्यसमा सुधार गर्नुपर्ने विषयहरु उल्लेख गरेर पठाइसकेको बताए ।

नेपालले पठाएको सुझावहरुमा भारतीय पक्षको धारणा आएपछि ऋण सम्झौताको काम टुङगो लाग्ने उनले बताए । सडक, विद्युत र सिंचाई ३ वटामा गर्ने सहमति भएको छ। हाम्रो छलफल ठूला र राम्रो प्रतिफल दिन सक्ने थोरै आयोजना गर्ने प्रयासमा केन्द्रित छ । उनले भने,“मोदीजी सार्क सम्मेलनमा आउनुहुन्छ। त्यति बेलासम्म गर्न सकिन्छ कि भने हाम्रो प्रयास भईरहेको छ।”

विगतमा आयोजना छनौटका क्रममा बजेटलाई साना साना योजनाहरुमा छर्ने गरिएको गुनासाका माझ यसपालिको रकमलाई भने बुढी गण्डकी जलविद्युत आयोजना, मध्यपहाडी राजमार्ग, कालीगण्डकी करिडोर, माहाकाली तेस्रो सिंचाई आयोजना, गण्डक आयोजना जस्ता थोरै तर ठूला आयोजनामा लगानी गर्नेतर्फ छलफलहरु भईरहेको मरासिनीले बताए । उनले भने,“सडक, विद्युत र सिंचाई ३ वटामा गर्ने सहमति भएको छ। हाम्रो छलफल के मा लक्षित छ भन्ने ठुला र राम्रो प्रतिफल दिन सक्ने थोरै आयोजना गर्ने प्रयासमा केन्द्रित छ।”

साउनमा नेपाल आएका बेला भारतीय प्रधानमन्त्री मोदीले एक अर्ब डलर ऋण दिने घोषणा संसदमै गरेका थिए । उक्त ऋण १ प्रतिशतको सस्तो ब्याज दरमा दिइने बताईएको छ। (बीबीसीबाट)


  •  
  •  
  •