‘नेपालको विकासमा भारतीय सहयोगको अपेक्षा’

283
  •  
  •  
  •  

काठमाडौँ, २ चैत्र(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासमा भारतको सहयोगको अपेक्षा सरकारले गरेको बताएका छन् ।

भारतीय विदेश मन्त्रालयका सचिव सुब्रमन्यम जयशङ्करसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल विकासको चरणमा प्रवेश गरेकाले भारतसँग विकासका लागि सहयोगको अपेक्षा गरिएको बताएका हुन् । उनले नेपाल र भारतबीचको सम्बन्धमा आफ्नो भारत भ्रमणबाट थप सुदृढ भएको बताएका छन् ।

उनले नेपाली भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिनेमा सरकार सचेत र प्रतिबद्ध रहेको बताए।

संवाद र वार्ताका माध्यमबाट समाधान खोज्नका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा अहिले राजनीतिक समस्या नरहेको भारतीय विदेशसचिव जयशंकरलाई जानकारी गराएका थिए ।

पोखरामा हुने दक्षिण एसियाली क्षेत्रीय सङ्गठन (सार्क) को मन्त्रीस्तरीय बैठकका लागि नेपाल आएका सचिव जयशङ्करले नेपालको स्थायित्व र विकासका लागि भारत सहयोगी बन्न चाहेको बताउँदै नेपालमा स्थायित्व र विकास भएमात्र भारतलाई पनि सकारात्मक सहयोग पुग्ने विचार राखेका थिए ।

प्रधानमन्त्री ओलीको निर्णय क्षमताप्रति भारत सरकारको ठूलो विश्वास रहेको बताउँदै उनले नेपाल–भारतबीच विगतमा सम्झौता भई थाती रहेका काम अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।


  •  
  •  
  •