नाकाबन्दी खुल्ने समाचार हल्लामात्र: भारतीय राजदूत

136
  •  
  •  
  •  

काठमाडौँ, २४ कात्तिक(ओएनएस) : नेपालका लागि भारतीय राजदूत रायले नाकाबन्दी खुल्ने भनेर आफ्नो नाम लिएर आएको समाचार अफबाह र अनुमान मात्र भएको बताएका छन् ।

रिपोर्टस क्लबमा मंगलवार साक्षात्कार कार्यक्रममा भारतीय राजदूत रायले मधेसी आन्दोलनकारीको अवरोधका कारण सीमा नाकाबाट आपूर्ति असहज भएको दावी गरेका छन् । उनले भारतले नाकाबन्दी नलगाएको भन्दै मधेस समस्या समाधान नभएसम्म सीमा नाकामा देखिएको पारबहन समस्या समाधान नहुने बताएका छन् ।

मधेस आन्दोलनका माग र मुद्धालाई गम्भीरतापूर्वक लिएर राजनीतिक ढंगले समाधान नगरेसम्म वीरगन्ज नाका नखुल्ने र वीरगन्ज नाका नखुलेसम्म आपूर्ति समस्या कायम रहने उनले प्रष्ट पारे ।

नेपाल र भारतका अन्य सीमा नाकाहरु सहज बनाउन पहल भइरहे पनि त्यहाँबाट ३० प्रतिशत आपूर्ति मात्र सम्भव रहेको भन्दै राजदूतले रक्सौल वीरगन्ज नाका खुलाउन मधेस आन्दोलन समाधान हुनुपर्ने बताए ।

नेपाल सरकारले सोमवारको मन्त्रिपरिषद बैठकमार्फत भारतलाई आपूर्ति तथा पारवहन सहज बनाउन पारित गरेको भनिएको विशेष प्रस्ताव आफूले औपचारिक रुपमा नपाएको राजदूतले बताए ।

राजदूतले भने-‘त्यो विशेष प्रस्ताव म समक्ष आयो भने तत्काल भारत सरकारसम्म पुर्‍याउनेछु ।’


  •  
  •  
  •