पक्राउ परेका १३ एसएसबीलाई ७ घण्टापछि छाडियो

192
  •  
  •  
  •  

काठमाडौं १४ मंसिर ।
सुनसरीको हरिपुरमा गोली प्रहार गरी चार नेपालीलाई घाइते बनाएको घटना सेलाउन नपाउँदै झापाको सीमावर्ती गाउँ केचनामा आइतबार बिनाअनुमति भारतीय सीमा सुरक्षा बल (एसएसबी) हतियारसहित प्रवेश गरी आतंकित बनाएका छन् । बिहारको किसनगन्ज जिल्लासँग सीमा जोडिने नेपालकै होचो स्थान केचनामा छिरेका एसएसबीका १३ सुरक्षाकर्मीलाई नेपालको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर ६ घण्टापछि छाडेको छ ।

किसनगन्जको १२ नम्बर बटालियन फोर्सका ती सुरक्षाकर्मी बिहान करिब ७ बजे केचना ४ मा प्रवेश गरेको स्थानीयवासी लाल आलमले जनाए । आलमका अनुसार इन्धन तस्करीका कारोबारीलाई लखेट्ने बहानामा उनीहरू नेपाली भूमिमा छिरेका थिए । ‘पहिला दुईजना छिरेका थिए,’ उनले भने, ‘पछि ११ जना थपिए, जसमा चारजनाले बन्दुक पनि बोकेका थिए ।’ बन्दुकधारी एसएसबी गाउँमा छिरेपछि स्थानीयवासी आतंकित भएका थिए ।

हतियारसहितको एसएसबी नेपाली भूमिमा छिरेपछि सीमा क्षेत्रका स्थानीय त्रसितसँगै आक्रोशित पनि बने । उनीहरूले विरोधमा नाराबाजी गरे । एसएसबीका सुरक्षाकर्मी नाकाबाट निर्बाध प्रवेश गरी करिब ५ सय मिटरवर गाउँमा आइपुगेका थिए । स्थानीयवासीसँग विवाद भएको ठाउँसँगै जोडिएको सशस्त्र क्याम्पका नेपाली सुरक्षाकर्मीले सुरुमा वास्तै गरेनन् ।

दुई पक्षबीच वादविवाद बढ्न थालेपछि सशस्त्र प्रहरीको बोर्डर अपरेसन पोस्ट (बीओपी) लाई नेपालीले गुहारेका थिए । अनि मात्र सशस्त्र बलको टोली घटनास्थल पुगेको थियो । ‘स्थानीयवासीसँग विवाद बढदा अकल्पनीय दुर्घटना निम्तिन सक्छ भनेर एसएसबी टोलीलाई सम्मानपूर्वक नियन्त्रणमा लिइएको हो,’ सशस्त्र प्रहरी स्रोतले भन्यो । स्थानीयवासीले सशस्त्र क्याम्पबाहिर ‘भारतीय ज्यादती बन्द गर’ भन्दै लामो समय नाराबाजी गरेका थिए ।

घटनालगत्तै झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौला, जिल्ला प्रहरी कार्यालयका डीएसपी भीम दाहाल, सशस्त्र प्रहरी सीमा सुरक्षा बल भद्रपुरका डीएसपी प्रेम प्रसाईंलगायत सुरक्षा निकायका प्रमुखहरू घटनास्थल पुगेका थिए । उताबाट एसएसबीका १२ नम्बर बटालियनका कमान्डेन्ट दिनेश भगत नेगीलाई समेत बोलाइयो । नेगीको उपस्थितिमा नेपाली सुरक्षा अधिकारीको टोलीले लामो छलफल गरेको थियो । छलफलमा कमान्डेन्ट नेगीले नेपाली भूमिमा नियतवश नभई भूलवश प्रवेश भएको बताए । एक सुरक्षा अधिकारीका अनुसार उनले जवानहरूबाट भएको गल्ती माफ गरिदिन नेपाली सुरक्षा अधिकारीसँग आग्रह गरेका थिए । उनले भविष्यमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएको स्रोतले बतायो ।

एसएसबीलाई नियन्त्रणमा लिएलगत्तै झापाका सहायक प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीले गृह मन्त्रालयमा घटनाबारे जानकारी गराएका थिए । सुरक्षा स्रोतका अनुसार गृहबाट दुई देशको आपसी सम्बन्ध थप बिग्रन सक्ने आशय व्यक्त गर्दै केही चेतावनी दिएर छाड्न निर्देशन भएको थियो । संयोगले गृहमन्त्री शक्ति बस्नेतलगायत सुरक्षा निकायका उच्च अधिकारीहरू सुरक्षा बैठकको सिलसिलामा इटहरीमै थिए । ‘गृह मन्त्रालयबाट छाड्न आदेश आएपछि छाडेका हौं,’ झापाका एक सुरक्षा अधिकारीले भने । एसएसबीहरू किन र कुन उद्देश्यका साथ नेपाली भूमि छिरे ? भन्नेबारे सशस्त्रले विस्तृत अनुसन्धान गर्ने जनाएको छ ।

केचना क्षेत्रमा केही समयदेखि इन्धन र सुपारी तस्करी फस्टाएको छ । तीन दिनअघि प्रहरीले सुपारी पक्राउ गरेपछि कारोबारी र प्रहरीबीच झडप नै भएको थियो । त्यसक्रममा प्रहरीले हवाई फायरिङ गरेको थियो । घटनामा स्थानीय एक महिला घाइते भएकी थिइन् ।

कान्तिपुरबाट


  •  
  •  
  •