काठमाडौँ, ११ चैत(ओएनएस) : भारतमा जारी टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको गयराती सम्पन्न खेलमा भारतले सनसनीपूर्ण जित हासिल गरेको छ । भारतले बंगलादेशमाथी १ रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
बंगलादेशले पछ्याएको १ सय ४७ रनको विजय लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाएर १ सय ४५ रन जोड्न सफल भएपछि मात्र १ रनले पराजित भएको हो । बंगलादेशलाई अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा बंगलादेशले पहिलो बलमा १ रन जोडेको थियो भने दोस्रो र तेस्रो बलमा दुई चौकाको मद्दतले थप ८ रन जोडेको थियो । जितका लागि ३ बलमा २ रन चाहिएको अवस्थामा बंगलादेशका दुई ब्याट्स्म्यान मह्मुदुल्लाह र मुस्फिकर रहिम क्रिजमा थिए र बंगलादेशको जित निश्चित भएको आकलन गरिएको थियो । तर, भारतका बलर हार्दिक पाण्डेले उत्कृष्ट बलिङ गर्दै चौथो र पाँचौ बलमा यी दुवै ब्याटस्म्यानलाई पेभेलियन फर्काए र अन्तिम बलमा मुस्ताफिजुर रहमानलाई भारतका कप्तान महेन्द्र सिंह धोनीले रन आउट गरेपछि खेल भारतले आफ्नो पक्षमा पार्न सफल भएको हो ।
बंगलादेशलाई जितको नजिक पुर्याउनका लागि तमिम इकवालले ३५ रन जोडेका थिए भने सबिर रहमानले २६ रन, सकिब अल हसनले २२ रन, सौम्य सरकारले २१ रन जोडेका थिए । यता भारतका लागि रवीचन्द्रन आश्विन, रवीन्द्र जडेजा र हार्दिक पाण्डेयले समान २-२ विकेट लिएका थिए भने आशिष नेहेरा र सुरेश रैनाले समान १-१ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरको खेलमा आफ्ना ७ विकेट गुमाउँदै १ सय ४६ रन जोडेको थियो । भारतका लागि सुरेश रैनाले ३० रन जोडेका थिए भने विराट कोह्लीले २४ रन तथा शीखर धवनले २३ रन जोडेका थिए । बंगलादेशका लागि मुस्ताफिजुर रहमान र अल-अमिन हुसेनले समान २-२ विकेट लिएका थिए भने सकिब अल हसन, शुभगाता होम र मह्मुदुल्लाहले समान १-१ विकेट लिएका थिए ।
खेलको म्यान अफ दी म्याच आर आश्विन घोषित भएका छन् ।
यसअघि गयराती नै सम्पन्न खेलमा इङल्याण्डले अफगानिस्तानलाई १५ रनले पराजित गरेको थियो । इङल्याण्डले दिएको १ सय ४३ रनको विजय लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै मात्र १ सय २७ रन जोडेपछि १५ रनले पराजित भएको हो ।
अफगानिस्तानका लागि सफिउल्लाहले अविजित रहँदै सर्वाधिक ३५ रन जोडेका थिए । अफगानिस्तानलाई उक्त स्कोरमा समेट्न इङल्याण्डका डेभिड विले र अदिल रसिदले समान २-२ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ थालेको इङ्ल्याण्डले निर्धारित २० ओभरमा आफ्ना ७ विकेट गुमाउँदै १ सय ४२ रन जोडेका थिए । उसका लागि मोइन अलीले अविजित रहँदै सर्वाधिक ४१ रन जोडेका थिए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रसिद खानले समान २-२ विकेट लिएका थिए ।
खेलको म्यान अफ दी म्याच मोइन अली घोषित भए ।