भारतीय विदेश सचिव काठमाडौंमा

169
  •  
  •  
  •  

indian foreign secretary  s jayashankarकाठमाडौं १९ चैत (ओएनएस) :  भारतीय विदेश सचिव सुब्रमण्यम जयशंकर आज नेपाल आएका छन् । नेपाल भ्रमणका क्रममा भारतले नेपाललाई उपलब्ध गराएको सहुलियतपूर्ण ऋण सहयोग र त्यसको उपयोगबारे छलफल हुने भएको छ। दुईदिने भ्रमणका क्रममा उनले राजनीतिक नेतृत्व र सरकारका उच्च् अधिकारीसँग छलफल गर्नेछन् ।

भारतले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायताको उपयोगबारे जयशंकरको भ्रमणमा छलफल हुने छ ।  गत अगस्टमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता घोषणा गरेका थिए।

बिहान नेपाल आएका जयशंकरले ११ बजे नेपाली समकक्षी शंकरदास बैरागीसँग परराष्ट्र मन्त्रालय सिंहदरबारमा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ।  सभामुख सुवासचन्द्र नेम्बाङसँग भेट गरी उनले संविधान निर्माणबारे चासो राख्नेछन्।

भारतीय सहयोगमा निर्माण थालेको हुलाकी राजमार्गको काम रोकिएको विषयमा सचिवस्तरीय बैठकमा छलफल हुनेछ।

विदेश सचिव जयशंकरले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासँग पनि भेट्नेछन्। त्यसैगरी उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली एवं मधेस केन्द्रित नेतालाई संयुक्त रूपमा भेट्नेछन्। दलका नेतासँग जयशंकरले संविधान निर्माण प्रक्रिया अवरुद्ध भएकोबारे जानकारी लिनेछन् ।


  •  
  •  
  •