संविधान रोक्न भारतीय राजदूतको खुलेयाम चलखेल

166
  •  
  •  
  •  

RANJIT-RAEकाठमाडौं २६ भदौ ।
संविधान निर्माण निर्णायक चरणमा प्रवेश गर्नै लाग्दा प्रकिया रोकाउनका लागि भारतीय राजदूतको खुलेयाम चलखेल सुरु भएको छ।

मतदान रोकेर संविधान निर्माण प्रक्रियालाई पर धकेल्नका लागि भारतीय राजदूतको दौडधूप शुक्रबार बिहानदेखि तीव्र भएको छ। राजदूतले मुख्य दलका नेताहरुलाई घरघरमा गएर भेट्दै संविधानसभाको प्रक्रिया रोक्न दबाब दिइरहेका छन्।

उनले शुक्रबार बिहान बालकोटमा पुगेर एमाले अध्यक्ष केपी ओलीलाई भेटे भने त्यसको लगत्तै उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेका छन्।

भेटमा उनले जोड दिएको एउटै सन्देश छ, ‘आन्दोलनकारीसँग वार्ता नगरीकन अघि बढ्दा समस्या हुन्छ ।’ खासगरी तराई मधेसमा आन्दोलनरत दलहरुको माग र मुद्दालाई सम्बोधन नगरीकन संविधान ल्याउन नहुने उनको आशय छ।

बालकोटमा भएको भेटमा ओलीले पटकपटक वार्ताका लागि अपिल गर्दा पनि उनीहरु सम्वादमा उदासिन देखिएको बताउँदै अब प्रक्रियामा जानुबाहेक अर्को विकल्प नहुने बताएका थिए ।

उनले तराई तथा मधेसमा उठेका माग र मुद्दामध्ये धेरै संविधानमा समेटिएको र केही बाँकी भए पछि रुपान्तरित संसद्बाट गर्न सकिने बताएका थिए । वार्ताको बाहनाका प्रक्रिया रोक्नु उचित नहुने धारणा ओलीले राखेका थिए ।

ओलीको यो स्पष्ट भनाइ सुनेपछि रन्जित रे प्रचण्डलाई भेट्न सिधै लाजिम्पाट पुगेका थिए। त्यहाँ पनि भारतीय राजदूतले त्यही सन्देश दोहोर्‍याएका थिए।

रे ले आन्दोलनकारी मधेसी दल तथा अन्य पक्षहरुका माग एवं मुद्दालाई पनि सम्बोधन गरेर संविधान जारी गर्नु उपयुक्त हुने सुझाव दिएको स्रोतले बतायो ।

त्यसका लागि आवश्यक परे केही दिन संविधानसभाको प्रक्रियासमेत स्थगन गर्दा समाधान खोज्न सहज हुने भनाइ रेले राखेका थिए।

भेटमा प्रचण्डले आन्दोलनकारीसँग वार्ताका लागि अनौपचारिक तहमा पहल भइरहेको र छिटै उनीहरुसँग औपचारिक वार्ता हुने जानकारी प्रचण्डले दिएका थिए ।

उनले मधेसी, थारु तथा अन्य आन्दोलनरत पक्षका माग एवं मुद्दालाई सम्बोधन गर्न आफूहरु सकारात्मक रहेको तर त्यो बाहनामा संविधानलाई अड्काउने वा रोक्ने खेल हुनसक्ने भएकोले त्यसमा तीन दल सचेत रहेको बताएका थिए। f
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •