भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे आज तीनदलको बैठक

139
  •  
  •  
  •  

काठमाडौं १२ साउन (ओएनएस) : हिजो आइतबार अन्तिम समयमा स्थगित भएको तीन दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका साथै समसामयिक विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बोलाएका हुन्।

उनले आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको बैठक बोलाएका हुन्। बैठकमा व्यवस्थापिका संसदका समितिहरू गठन, संविधान निर्माण र अन्य समसामयिक विषयमा छलफल हुनेछ। नेपालको तर्फबाट भारतीय प्रधानमन्त्रीसमक्ष राख्ने एजेन्डाका साथै संविधान निर्माण, संसदका समिति गठन, २६ सभासदको मनोनयन , राजनीतिक समिति गठनका विषयमा छलफल हुनेछ ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण सकिएलगतै प्रधानमन्त्री कोइरालाले भारतीय समकक्षीको नेपाल भ्रमणका क्रममा उठाउने एजेन्डाबारे छलफल गर्न लागेका हुन्। सरकारले मोदीको नेपाल भ्रमणलाई राजकीय बनाउने तयारी गरेका बेला प्रमुख तीन दलको बैठकमा त्यसबारे समेत छलफल हुनेछ। भारतीय प्रधानमन्त्री मोदी दुई दिने नेपाल भ्रमणका क्रममा साउन १८ गते बिहान काठमाडौं आइपुग्नेछन्। सोही दिन व्यवस्थापीका संसदलाई मोदीले सम्बोधन गर्नुका साथै राष्ट्रपति, प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा मोदी होटल हायातमा बस्नेछन्।


  •  
  •  
  •