अष्ट्रेलियालाई पराजित गर्दै भारत सेमिफाइनलमा

229
  •  
  •  
  •  

India vs Australiaकाठमाडौँ, १५ चैत(ओएनएस) : भारतमा जारी टि-२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । गयराति सम्पन्न खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो । ‘गर या मर’को स्थितिमा रहेका दुवै टोलीका लागि अघिल्लो चरणमा प्रवेशका लागि जित आवश्यक थियो । यसमा भारतको पल्ला भारी हुँदा अष्ट्रेलिया समूह चरणबाटै घर फर्कने भएको छ ।

अष्ट्रेलियाले दिएको १ सय ६१ रनको विजय लक्ष्य पछ्याएको भारतले पाँच बल बाँकी रहँदा ४ विकेट गुमाएर आफ्नो लक्ष्य भेट्टाएको थियो । भारतलाई जित दिलाउनका लागि विराट कोह्लीले उत्कृष्ट प्रदर्शन गरेका थिए । अन्य ब्याटस्म्यानले राम्रो प्रदर्शन गर्न नसकिरहेको अवस्थामा विराट कोह्ली एक्लैले पारी सम्हाल्दै भारतको जीत सुनिश्चित गरेका थिए । उनले मात्र ५१ बलको सामना गर्दै ९ चौका र २ छक्काको मद्दतमा अविजित ८२ रन जोडेका थिए ।

यसका साथै युवराज सिंहले २१ रन र कप्तान महेन्द्र सिंह धोनीले अविजित १८ रन जोडेका थिए । अष्ट्रेलियाका लागि शेन वाटशनले २ विकेट तथा कोट्लर नाइल र जेम्स फल्कनरले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा आफ्ना ६ विकेट गुमाउँदै १ सय ६० रन जोडेको थियो । उसका लागि आरोन फिन्चले ४३ रन जोडेका थिए भने ग्लेन म्याक्सवेलले ३१ रन, उस्मान खावजाले २६ रन र शेन वाटसनले अविजित १८ रन जोडेका थिए । भारतका लागि हार्दिक पाण्डेले २ विकेट तथा आशिष नेहेरा, जसप्रित बुम्राह, रवीचन्द्रन आश्विन र युवराज सिंहले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच अविजित ८२ रन जोडेर भारतलाई जित दिलाएका विराट कोह्ली घोषित भएका छन् ।

यसअघि भएको खेलमा समुह तालिकाको पुछारमा रहेको र ३ खेलमा पराजय बेहोरेको अफगानिस्तानले समूह विजेता रहेको वेष्ट इण्डिजलाई पराजित गरेको छ । अफगानिस्तानले वेष्ट इण्डिजलाई ६ रनले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १ सय २४ रनको विजय लक्ष्य पछ्याउने क्रममा वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन मात्र जोड्न सफल भएपछि ६ रनको पराजय बेहोरेको हो । यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन जोडेको थियो । अफगानिस्तानका लागि नाजिबुल्लाह नाबीले अविजित रहँदै ४८ रन जोडेका थिए ।

खेलको म्यान अफ दी म्याच पनि नाजिबुल्लाह नै घोषित भएका छन् ।

समूह चरण अन्तर्गत आज अन्तिम खेल हुँदैछ । आजको खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच हुनेछ । यी दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।


  •  
  •  
  •