‘भारत-चीन एउटै स्वर भए विश्वको ध्यानाकर्षण’

103
  •  
  •  
  •  

काठमाडौं ३ असोज ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले दक्षिण एसियाली क्षेत्रको समग्र प्रगति, शान्ति र स्थायित्वका लागि भारत र चीनले मिलेर काम गर्नु जरुरी रहेको बताएका छन् ।

‘हामीबीच रहने साझा विकासको अवधारणाले क्षेत्रीय हित सम्भव छ,’ भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक वार्तापछि विश्व सम्बन्ध परिषद्को सभामा राष्ट्रपति जिनपिङले भने, ‘विकासको आपसी सहकार्यसहित चीन र भारतको एउटै स्वर निस्केमा सिंगो विश्वको ध्यानाकर्षण हुन सक्नेछ ।’ चिनियाँ नेता देङ सियापिङको भनाइ स्मरण गर्दै उनले ‘भारत र चीन आपसी सहकार्यमा अघि बढेमा क्षेत्रीय विकास सम्भव हुने,’ धारणा राखेका थिए ।

दुई देशको रणनीतिक र विकास साझेदारी सम्बन्धलाई अझ अघि बढाउन चीन सदैव तत्पर रहेको भन्दै जिनपिङले विश्व मानचित्रमा उदीयमान शक्तिका रूपमा उदाएका भारत-चीनले ‘जुम्ल्याहा इन्जिन’ को रूपमा सहकार्य गर्नुपर्ने टिप्पणी गरे । चीनले सदैव क्षेत्रीय शान्ति, विकास र स्थायित्वका निम्ति सहकार्य र साझेदारी चाहेको उनले स्पष्ट पारे । विकास सहकार्यअन्तर्गत चीनले आगामी ५ वर्षमा भारतमा २० बिलियन डलर लगानी गर्ने जानकारीसमेत उनले दिए । चीनले महाराष्ट्र र गुजरातमा औद्योगिक पार्क निर्माण गर्नेसमेत उनले बताए ।

राष्ट्रपति जिनपिङको ‘साझेदारी विकास’ को धारणा आउनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक-अर्काको आर्थिक समृद्धिको अवधारणाले एसियाली क्षेत्रमा ‘शान्ति, स्थायित्व र सम्पन्नता’ आउन सक्ने बताएका थिए । उनले दुई देश मिलेर विकास साझेदारीका योजना अघि बढाएमा सिंगो विश्व समुदायको अर्थतन्त्र ऊर्जाशील बन्न सक्ने धारणा राखेका थिए ।

वार्ता सीमा विवादमा केन्दि्रत

आफ्नो जन्मदिनको अवसर पारेर प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै गृहनगरी गुजरातमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई विशिष्ट रात्रिभोजले आतिथ्य मात्रै गरेनन्, सीमावर्ती जम्मुकाश्मीर र लद्दाख क्षेत्रमा चिनियाँ जनमुक्ति सेना -पीएलए) ले गरेको घुसपैठबारे पनि गम्भीरतासाथ कुरा उठाए ।

सीमामा चिनियाँ पक्षको घुसपैठबारे राष्ट्रपति जिनपिङको भारत भ्रमणको सुरुवातमै ‘चासो राखिएको’ सूचना विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

बिहीबार हैदरावाद हाउसमा दुई नेताबीच भएको औपचारिक वार्तालगत्तै विवादित क्षेत्रमा आएको चिनियाँ सेना आफ्नै नियन्त्रण रेखा -लाइन अफ कन्ट्रोल) भित्र फिर्ता भएको छ । हिमाञ्चल प्रदेशको सीमावर्ती चुमार क्षेत्रमा झन्डै १ हजार चिनियाँ सैनिक भारतीय भूमिमा ‘घुसपैठ भएको’ भन्दै भारतीय पक्षले आवाज उठाएको थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •