भारत र चीन कसले कति सहयोग दिदै ?

100
  •  
  •  
  •  

काठमाडौं १० असार ।
नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले १ खर्ब सहुलियतपूर्ण ऋण र चीनले ६५ अर्ब रुपैयाँ सहयोग गर्ने संकेत गरेका छन् । पुनर्निर्माणका लागि सहयोग जुटाउन सरकारले बिहीबार आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका ती मुलुकका अधिकारीहरूले बुधबार राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीलगायत अधिकारीहरूसितको भेटघाटमा त्यति सहयोग घोषणा गर्ने संकेत गरेका हुन् ।

अर्थमन्त्री रामशरण महतसहितका नेपाली अधिकारीहरूले दाताबाट कति सहयोग आउने भन्ने उल्लेख नगरे पनि मुलुकको पुनर्निर्माणका लागि आवश्यक सहयोग आउनेमा सरकार विश्वस्त रहेको बताएका छन् । स्रोतका अनुसार चीनले ६५ अर्ब रुपैयाँ सहयोग गर्न सक्ने संकेत गरेको छ । उसले आफ्नो सीमामा रहेको नेपाली भूभाग र सडक मर्मतमा विशेष चासो देखाएको स्रोतको दाबी छ ।

भारतीय अधिकारीले भने पुनर्निर्माणका लागि एक खर्ब सहुलियत ऋणको सहयोग र केही अनुदान दिने संकेत भेटघाटमा गरेको एक अधिकारीले बताए । जापानले पनि ठूलै सहयोग गर्ने संकेत गरेको परराष्ट्र उच्च अधिकारीले जनाए । चीन र भारतको छिमेक नीति सक्रिय रहेकाले नेपालको विकासमा दुवै मित्रराष्ट्रको विशेष सहयोग रहने सरकारी अधिकारीहरूको दाबी छ । दाताले दिने सहयोगमा केही सर्त भने रहन सक्नेछ ।

सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका राजनीतिज्ञ तथा विशिष्ट अधिकारीहरू बुधबार नै उच्चस्तरीय भेटघाट र ध्वस्त संरचनाको अवलोकनमा व्यस्त भए । सम्मेलनअघि नेपाल आइपुगेका अतिथिहरूले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलगायतसँग दुई पक्षीय भेटघाट गरेका हुन् । सबै भेटघाटमा मुलुकको पुनर्निर्माणको विषय र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो । छलफलमा उनीहरूले घोषणा गर्न लागेको रकमबारे समेत जानकारी दिइएको एक अधिकारीले बताए । पुनर्निर्माणका लागि पुग्ने सहयोग उनीहरूबाट आउने संकेत पाएको भेटघाटपछि सरकारी अधिकारीले बताएका छन् । सम्मेलनको अघिल्लो दिन बुधबार भारतकी विदेशमन्त्री सुष्मा स्वराज, चीनका विदेशमन्त्री वाङ यी, नर्वेका विदेशमन्त्री वर्ग ब्रेन्डे, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले प्रधानमन्त्री कोइरालासँग भेट गरे । सबै भेटमा पुनर्निर्माणका लागि गर्नुपर्ने सहयोगका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाबारेमा छलफल भएको प्रधानमन्त्री निकट अधिकारीहरूले बताए ।

उनीहरूको सम्मानमा सरकारले आयोजना गरेको रात्रिभोजमा पनि साइडलाइन वार्ता भएका थिए । सोल्टी होटलमा आयोजित रात्रिभोजमा विदेशी अतिथि, नेपालका उच्च पदाधिकारी र राजनीतिक दलका नेताहरू सहभागी थिए ।

मुलुकको पुनर्निर्माण, पुन:स्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता र अनुभव जुटाउने उद्देश्यले आयोजना गरिन लागेको सम्मेलनको उद्घाटन बिहीबार प्रधानमन्त्री कोइरालाले गर्नेछन् । सम्मेलनमा अनुभव, विपद् व्यवस्थापनका विधि र नेपालले सिक्नुपर्ने पाठ तथा भविष्यमा अवलम्बन गर्नुपर्ने रणनीतिबारे विकासका साझेदार, द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायका सुझाव लिइने अर्थमन्त्री महतले कान्तिपुरलाई बताए ।

उनले सहयोग रकमबारे नसोध्न भन्दै आस गरेअनुरूपको सहयोगका साथै नेपालको विकास प्रक्रियामा सहकार्यको प्रतिबद्धता आउने स्पष्ट पारे । उनका अनुसार सात मुलुकका मन्त्री तथा तीन दर्जन मुलुकका उच्च अधिकारी र दुई दर्जन अन्तर्राष्ट्रिय दाता तथा सहयोगी संस्थाका प्रतिनिधिहरूसहित दुई सय बढी अधिकारीहरू सम्मेलनमा सहभागी हुनेछन् ।
कान्तिपुरबाट


  •  
  •  
  •