भारतीय सीमानाकामा अघोषित नाकाबन्दी

130
  •  
  •  
  •  

काठमाडौं ८ असोज ।
सुदूरपूर्वी नाका झापाको काँकडभिट्टामा एसएसबीले ‘दिल्लीको आदेश’ भन्दै मालवाहक ट्रकलाई नेपाल छिर्न रोक लगाएको छ। व्यवसायीका अनुसार एसएसबीले बुधबार अपराहनदेखि नै ढुवानी ठप्प पारेको हो। नेपाल छिर्न नपाएका ट्रक भारतीय भन्सार क्षेत्र पानीटंकीमा रोकिँदा बजार र राजमार्ग अस्तव्यस्त छ। ‘पानीट्यांकीदेखि नक्सलबाडीसम्म करिब चार किलोमिटरमा ट्रकको ताँती छ,’ भारतीय भन्सार एजेन्ट जीवन निरौलाले भने।

एसएसबीले क्लिङ्कर, पेट्रोलियम, कोइला, मार्बल र तरकारी बोकेका ट्रकलाई नेपाल छिर्न दिएका छैनन्। ‘भारतीय भन्सारले जाँचेर छाडेका ट्रकलाई एसएसबीले अनावश्यक रोकेर राखेको छ,’ भारततिर व्यवसाय गर्दै आएका निरौलाले भने, ‘एसएसबीलाई अनुरोध गर्दा सुरक्षाको कारण देखाएर अनावश्यक सास्ती दिएको छ।’

सामान नेपाल छिर्न नसक्दा भन्सारले बिहीबार करिब डेढ करोड राजस्व गुमाएको छ। ‘आयात ठप्प हुँदा एक रुपैयाँ पनि असुली गर्न सकिएन,’ मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले भने, ‘आयात–निर्यात पुरै ठप्प भयो।’ उनका अनुसार बिहीबार साँझ इन्धन बोकेका ६ वटा ट्रक मात्रै एसएसबीले छाडेको छ।

अधिकारीले आयात सहज बनाउन भन्दै पानीट्यांकी भन्सारका एसिस्टेन्ट कमिस्नर इन्दर कुमारसँग सहजीकरणका लागि आग्रह गरेका थिए। तर, समकक्षी कुमारले केन्द्रबाटै कडाइ गर्ने निर्देशन आएको जवाफ दिएको उनले बताए। ‘एसएसबी र भन्सार दुवै निकायलाई कडा जाँचपछि मात्रै सामान नेपाल छिर्न दिन भनिएको छ,’ भन्सार कमिस्नर कुमारको भनाइ उद्धृत गर्दै अधिकारीले भने।

व्यापार सहजका लागि रानीगन्ज ग्रामपञ्चायतका पूर्व प्रधानपञ्च हान्द्रु उराउलगायतका स्थानीय राजनीतिक पार्टीका नेताहरूले समेत एसएसबी अधिकारीसँग अनुरोध गरेका थिए। ‘दिल्लीबाट आदेश आएको हो, हामी केही गर्न सक्दैनौं भनेर फर्काए,’ उराउले भने।
नेपाली व्यवसायी राजु महर्जनले एसएसबीले गरेको अनावश्यक जाँच र कडाइले व्यवसायीले सास्ती बेहोर्नुपरेको दुखेसो पोखे।

यस्तै, मोरङको विराटनगरस्थित जोगबनी भन्सारबाट पनि बुधबार साँझदेखि सामान बोकेका ट्रक र कन्टेनरलाई नेपाल प्रवेश गर्न दिइएको छैन। विराटनगर भन्सारबाटै जाँचपास भएर भारत गएका ट्रकलाई चाहिँ रोकिएको छैन। जोगबनी भन्सारले एजेन्टले काम नगर्दा नेपाल जाने मालवाहक ट्रक रोकिएको बहाना बनाएर आयात ठप्प पारेको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए। विराटनगर र जोगबनी भन्सारका प्रमुखहरूबीचको कुराकानीमा भारतीय पक्षले एजेन्टले काम नगर्दा मालवाहक ट्रकको जाँचपास हुन नसकेको जवाफ आएको उनले बताए।

जोगबनीमा तीन सयभन्दा बढी मालवाहक ट्रक भारतीय क्षेत्रमा अड्किएका छन्। त्यहाँ रोकिएका ट्रकमा औद्योगिक कच्चापदार्थसहित पेट्रोलियमपदार्थ, ग्यास, खाद्यान्न र व्यापारिक सामान छन्। विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार निकासी चाहिँ जारी छ। ‘बुधबार साँझदेखि एक ट्रक औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान विराटनगर प्रवेश हुन सकेको छैन,’ उनले भने।

आयात रोकिँदा जोगबनीदेखि बथनाहासम्मको सडक खण्डमा मालवाहक ट्रकको लाइन छ। विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरका अनुसार जोगबनी भन्सारका एजेन्ट सामानको जाँचपास गर्न तयार भए पनि कर्मचारीले नै फायल अगाडि बढाउन नमानेपछि आयात ठप्प भएको हो। ‘एजेन्टहरू काम गर्न तयार छन्’ उनले भने, ‘तर भन्सारका कर्मचारी भारतीय ट्रकलाई नेपालमा कसले सुरक्षा दिन्छ भन्ने बहाना बनाएर जाँचपास गर्न मान्दैनन्।’ उनका अनुसार रेल–वेबाट आयात भएका औद्योगिक र व्यापारिक सामान पनि रेल–वे स्टेसनमा थुपारिएको छ।

उता, बाँकेको नेपालगन्ज–रुपैडिहा नाकामा पनि ‘अघोषित नाकाबन्दी’ गरी मालवाहक ट्रक र टयांकरलाई बिहीबार नेपाल भित्रिन दिइएन। भारतको रुपैडिहा पुग्दा अवरोधले करिब डेढ सय मालवाहक ट्रक दिनभर पारि नै रोकिएको थियो। भारतीय ‘कस्टम’ले माथिल्लो सुरक्षा अधिकारीहरूको निर्देशन आएको भन्दै मालवाहक गाडी ‘क्लियरिङ’ नगरेको हो। बिहान १० बजेदेखि भारतबाट सामान लिएर आएका गाडी नेपालगन्ज छिर्न नदिएर भारतीय पक्षले अघोषित नाकाबन्दी गरेको हो। त्यसअघि बिहानै पनि सीमामा आइपुगेका मालवाहक ट्रक र टयांकरलाई ‘क्लियरिङ पास’ दिइए पनि एसएसबीले रोकेको थियो। भारतको गोन्डाबाट ल्याइएका १४ बुलेट ग्यास, २७ टयांकर डिजेल
र २ टयांकर पेट्रोल बोकेका गाडी रोकिएका थिए।

इन्धन ढुवानी ठप्पै
नयाँ संविधान जारी भएपछि भारतले आपूर्तिमा नाकाबन्दीको संकेत गरे सँगै वीरगंज नाकाको भारततर्फ रक्सौल कस्टमका कर्मचारी र सुरक्षाकर्मीले अनावश्यक दु:ख दिइरहेका छन्। भारतीय सीमा सुरक्षाबलले बुधबार एक नेपाली टयांकरका चालकलाई बिनाकारणा कुटपिट गरेपछि असुरक्षा महसुस गर्दै चालकले ढुवानी ठप्प पारे। रक्सौलस्थित भारतीय आयल निगमबाट इन्धन लोड गरी निस्कने क्रममा ना५ख ३४११ नम्बरका टयांकर चालकलाई पिटिएको थियो। इन्धन लोड गरिसकेका टयांकरलाई जाँचपास गरी चलान दिन पनि रक्सौल भन्सारका कर्मचारीले अनेक बहाना बनाउन थालेका छन्। असुरक्षा र चलानको ग्यारेन्टी नहुनाले अधिकांश टयांकर चालक पारिपट्टि जान आनाकानी गरिरहेको यातायात स्वतन्त्र मजदुर संघ अध्यक्ष रवि गुरुङले बताए।

बिहीबार बिहानैदेखि नाकामा मधेसी मोर्चाको धर्नाले स्थिति तनावग्रस्त भएपछि साँझ ६ बजेसम्म एउटा पनि टयांकर भारततर्फ जान सकेको थिएन्। वीरगन्ज भन्सार र शंकराचार्य गेट क्षेत्रमा दर्जनौं इन्धन बोक्न टयांकर रोकिएका छन्। अमलेखगन्जस्थित आयल निगमका क्षेत्रीय प्रमुख भानु खनालका अनुसार पछिल्लो २ दिनमा ८ वटा टयांकरमात्र आईओसीबाट इन्धन लोड गरी मुलुक भित्रिएको छ। ‘बिहीबारको तनावले टयांकर जान पनि पाएनन्,’ उनले भने, ‘उताबाट आउन पनि पाएका छैनन्।’ बरौनी आयल डिप्पोमा इन्धन लिन पठाइएको ८ वटा टयांकर अझै पुगिनसकेको उनले जनाए।

‘माथिको आदेश‘ भन्दै रोक
यसैगरी ‘माथिको आदेश’ भन्दै भारतीय सुरक्षाकर्मीले रुपन्देहीस्थित सुनौली–भैरहवा नाकाबाट पनि ढुवानी रोकेको छ। भारतीय पक्षले चेकजाँचका नाममा असहज बनाउन थालेको हो। यसले अघोषित रूपमा ‘नाकाबन्दी’ भएको स्थानीयले बताएका छन्। दसगजामा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले भारतबाट आएका मोटरसाइकलबाहेक अन्य मालवाहक र यात्रुवाहक गाडीलाई रोकेर चेकजाँचको नाममा घण्टौंंसम्म अलमल्याउन थालेका छन्।

त्यसले ढुवानी प्रक्रिया एकदमै असहज र प्रभावित बन्न पुगेको हो। बुधबारदेखि नेपाल छिर्ने गाडीलाई चेकजाँचका नाममा दु:ख दिन थालिएको हो। ‘भारतबाट मालवाहक गाडी र सामान नआएपछि भन्सार राजस्व ठप्प छ,’ भैरहवा भन्सार प्रमुख लावण्यकुमार ढकालले भने, ‘चेकजाँच प्रक्रिया छिटो गरी गाडी पास गराइदिन हामै्र कर्मचारीलाई पठाएर सीमावर्ती भारतीय भन्सारका कर्मचारीलाई बारम्बार अनुरोध गर्दै आएका छौं।’ उनका अनुसार सुनौली नाकाबाट दैनिक ३ सयदेखि ४ सय गाडी विभिन्न मालसामानसहित भित्रिने गरेकोमा मंगलबार दिउँसो २ बजेसम्ममा ४ वटामात्र मालवाहक आएका छन्। जसमा २ वटा फलफूलका गाडी थिए।

बुधबार भन्सार पास भएर आइसक्नुपर्ने खाना पकाउने ग्यासका १० वटा बुलेटमध्ये बिहीबार दिउँसोसम्म ७ भारतमा रोकिएका थिए। बिहीबार अपराह्नसम्म पेट्रोलियम ढुवानी गर्ने कुनै पनि टयांकर भित्रिएका छैनन्। ती भारततर्फ रोकिएका छन्। एसएसबीका सुरक्षाकर्मीले एउटा गाडीलाई चेकजाँच गर्ने भन्दै सिमानामा घण्टौं अल्झाउने गरेका छन्। यस्तो प्रक्रियाले दिनभरमा १५ वटा गाडी पनि चेकजाँच भएर आउन मुस्किल पर्छ। ढिलाइका कारणबारे सोध्दा नेपालको सुरक्षालाई ध्यानमा राखी चेकजाँच र सुरक्षा प्रक्रिया कडा पारिएको जवाफ दिने गरेका छन्।

‘नेपालमा मधेसवादी दलको आन्दोलन चलिरहेकाले ढुवानी भएका कुनैपनि गाडीबाट बिष्फोटक पदार्थ तथा हतियार जान नपाउन् भन्ने उद्येश्यले कडा चेकजाँच सुरु गरिएको हो’ सुनौलीस्थित एसएसवीको पोष्टमा कार्यरत ईन्सपेक्टर परमात्मा शुक्लाले भने, ‘यो माथिकै आदेश हो।’ संविधान जारी हुन अघि भारतीय पक्षले यसरी चेकजाँच गरेको थिएन। ढुवानी असहज बनेपछि सिमानादेखि करिब १५ किलोमिटर परसम्म नेपाल आउने गाडीको लाइन छ। एसएसबीका डीआईजी प्रफुल्ल कुमारले बुधबार सुनौली नाकामा आई वस्तुस्थितिबारे बुझेका थिए।कान्तिपुरबाट


  •  
  •  
  •