तेस्रो मुलुकबाट आएका चार हजार कन्टेनर भारतमा

158
  •  
  •  
  •  

काठमाडौं १६ मंसिर ।

भारतीय अवरोधका कारण कोलकाता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट नेपाल पुग्नुपर्ने तीन लाख २२ हजार पाँच सय मेट्रिकटन रासायनिक मल, कोइला र औद्योगिक कच्चा पदार्थ सीमामै रोकिएका छन् । यी सबै सामान बोकेका तीन हजार सात सय ७५ सुक्खा बन्दरगाहमा कन्टेनर रोकिएका हुन् ।

पछिल्लो साता भारतबाट जम्मा पाँच हजार मेट्रिकटन कोइला, २५ सय मेट्रिकटन मल नेपाल भित्रिएको छ भने औद्योगिक कच्चा पदार्थ भित्रिएको छैन ।

रासायनिक मल धेरै

भारतमा सबैभन्दा बढी रासायनिक मल रोकिएको छ । कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेका अनुसार एक लाख ५२ हजार मेट्रिकटन रासायनिक मल, एक लाख ४५ हजार मेट्रिकटन कोइला र २५ हजार मेट्रिकटन औद्योगिक कच्चा पदार्थ रोकिएको छ ।

एक सातादेखि नाकाको लाइनमा नौ सय कन्टेनर

कोलकाताबाट नेपालतर्फ हाल दुई सय २५ कन्टेनर प्रस्थान गरिरहेका छन् । तीमध्ये ७५ ट्यांकर जोगबनी नाका हुँदै र बाँकी काँकडभिट्टा, सुनौली र नेपालगन्जतर्फ ५०–५० कन्टेनर प्रस्थान गरेका छन् । सुनौली, जोगबनी र काँकडभिट्टामा लाइन बढ्यो कोलकातास्थित महावाणिज्य दूतावासका अनुसार एक महिनाअघि रोकिएका कन्टेनरको संख्या दुई हजार नौ सय ७५ रहेकोमा अहिले यो संख्या एक हजार तीन सय ५० मा झरेको छ ।

एक महिनायता रक्सौल र धनगढीबाहेकको नाकाबाट

एक हजार पाँच सय ७५ कन्टेनर नेपाल भित्रिएका छन् । एक महिनाअघि रक्सौलमा दुई हजार तीन सय कन्टेनर रहेकोमा अहिले दुई सय ५० मात्रै बाँकी रहेको महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले जानकारी दिए ।

अहिले सबैभन्दा बढी चार सयवटा कन्टेनर जोगबनीमा अड्किएका छन् भने काँकडभिट्टामा तीन सय कन्टेनर रोकिएका छन् । ‘रक्सौलमा अड्किएका तेस्रो मुलुकबाट ल्याइएका सामान हामीले रिरुटिङ गरेर जोगबनी, नौतनुवा (सुनौली) र काँकडभिट्टाबाट पठाइरहेका छौँ,’ महावाणिज्यदूत घिमिरेले कोलकाताबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘अहिले रक्सौलमा दुई सय ५० जति लाइनमा छन्, उनीहरूलाई पनि अन्तबाट पठाउँछौँ ।’ भन्सार स्रोतका अनुसार रेल कार्गोबाट आउन सहज छ, तर गाडीबाट केही झमेला हुने गरेको छ । जोखिम बढी देखाउँदै यातायात व्यवसायीले साबिकभन्दा बढी मूल्य लिन खोजिरहेका छन् ।

नाकाबन्दीका कारण नेपालसँगको कारोबारमा करोडौँ घाटा व्यहोरेका भारतीय व्यवसायी कन्टेनर पठाउन अप्ठेरो मानिरहेका छन् । तर, महावाणिज्य दूतावासले उनीहरूलाई आश्वस्त पारेर पठाउन खोजेको दूतावास स्रोतले बतायो । भन्सार स्रोतका अनुसार तेस्रो मुलुकबाट आएका सामान भारतीय भन्सारबाट साँझ मात्रै छाड्ने गरिएको छ । एक नेपाली भन्सार अधिकारीका अनुसार असुरक्षाका कारण सामान साँझ सात बजे मात्रै भारतीय भन्सारबाट कटाउने गरिएको छ । नयाँपत्रिकाबाट


  •  
  •  
  •