नेपालको उर्जामा भारत र चीनको प्रतिष्पर्धा

103
  •  
  •  
  •  

काठमाडौ, १० साउन (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको औपचारिक भ्रमणपछि नेपालको भ्रमणको तयारीमा रहेका छन् । १७ वर्षपछि औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री मोदी दुई दिनका लागि नेपाल आउन लागेका हुन् ।

india-china-flagयस भ्रमणका क्रममा भारतले सिमा सुरक्षा, राजनीति र उर्जाका सम्बन्धमा मुख्य रूपमा उठाउने बताइएको छ । भारतले यस पटक नेपालमा ६ सय मेगावाट विद्युत उत्पादनको प्रस्ताव ल्याउने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरूमा भारतले नेपालको उर्जामा चीनसँग प्रतिष्पर्धा गर्ने आशयका समाचारहरू समेत प्रकाशन तथा प्रसारण गरिरहेका छन् । विगत केही वर्षयता चीनले नेपाललाई हेर्ने दृष्टीकोण परिवर्तन गरेपछि नेपालमा आफ्नो प्रभुत्व जमाउने विषयमा भारत समेत निकै चनाखो हुन थालेको छ । चीनले पनि नेपालको उर्जामा विषेश ध्यान दिएको छ भने भारत पनि नेपालको उर्जामा लगानी गर्ने विषयमा चीनभन्दा एककदम अगाडि बढ्न चाहन्छ । भारतको चीनसँग नेपालको उर्जामा एक हिसाबले प्रतिष्पर्धा नै गर्दैछ ।

यो वर्षको सुरूवातमा सिन्ह्वाले प्रकाशित गरेको प्रतिवेदनमा नेपालमा चीनले गरेको लगानी भारतले गरेको भन्दा बढि भएको उल्लेख गरिएको थियो । चीनले गरेको लगानी अन्य कुनै विदेशी राष्ट्रले गरेको लगानीभन्दा धेरै भएको सिन्ह्वाको प्रतिवेदनमा उल्लेख गरिएको छ । यता भारतले भने पञ्चेश्वर योजनाको प्रतिवेदन बनाउनका लागि समस्या झेलिरहेको बताइएको छ ।

चीनले नेपालको उर्जा क्षेत्रमा करिब ६ अर्ब ६७ करोड नेपाली रूपैयाँ खर्च गरेको छ । चीनले नेपालमा लगानी गर्न थालेको धेरै भएको छैन् तर जुन हिसाबले नेपालमा लगानी गर्नका लागि इच्छुक देखिएको छ यसले भारतले विगतदेखी गर्दै आएको लगानीलाई समेत माथ दिने देखिन्छ । यसकारण पनि भारत नेपालमा थप लगानी गर्दै आफ्नो प्रभुत्व जमाउने मनसायमा देखिन्छ ।

भारतका केही सञ्चारमाध्यमहरूका अनुसार आफ्नो उर्जा लगानीलाई नेपालीले विश्वास गर्छन् भन्नेमा भारत ढुक्क छ किनकी चीनले गरेका लगानी प्राय सबैजसो ऋणमार्फत गरेको छ जसले नेपालीलाई चीनको व्यापार नीति बारे प्रष्ट पार्छ । यसले नेपाललाई त फाइदा नै पुग्ने छ । दुई छिमेकी देशको प्रतिष्पर्धामा नेपालले उmर्जा क्षेत्रमा थप विकास गर्न सक्ने सम्भावना बढेको छ ।

यद्यपी नेपालका लागि दुई छिमेकीबीचको प्रतिष्पर्धाभन्दा दुवै देश एकसाथ मिलेर उmर्जाको क्षेत्रमा काम गर्न सके फाइदा हुने देखिन्छ । दुवै देशले मिलेर उर्जामा लगानी गरे तीनै देशलाई फाइदा र सम्बन्ध सुधारका हिसाबले पनि महत्वपूर्ण हुने देखिन्छ । यसका लागि नेपालले पनि आफ्ना मत राखेर दुवै देशलाई साथमा लगानी गर्ने वातावरण सिर्जना गरिदिनु पर्छ ।

नेपालले दुई देशको सम्बन्धलाई सुधार गर्नका लागि मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दै देशको उर्जा विकासमा थप अगाडि बढ्न सक्छ । यसले सबैभन्दा बढि फाइदा नेपाललाई नै हुनेछ । विषेशगरी जलस्रोतमार्फत जलविद्युतको विकास नै नेपालको आर्थिक सम्वृद्धिको आधार बन्ने सबैलाई ज्ञात भएको विषय हो । यसमा चीन र भारतको स्वस्थ प्रतिष्पर्धा नेपाल, भारत र चीन तीनै देशका लागि फाइदाजनक हुन सक्छ ।


  •  
  •  
  •