भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

84
  •  
  •  
  •  

पोखरा । भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।
रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदरावादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए ।

अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवार स्रोतले जनाएको छ । नेपालीमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।


  •  
  •  
  •