विदेशमन्त्री सुष्मा स्वराजलाई चेतावनी
नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गर्ने भएका छन् । उनीहरूले संसद्को बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेका हुन् । भारत सरकारले नेपालको स्वतन्त्रतामाथि धावा बोलेको विपक्षी दलका सांसदको भनाइ छ । ‘हामी अब छिट्टै संसद्का कारबाही अवरुद्ध गरेर नाकाबन्दी हटाउन दबाब दिन्छौँ,’ राज्यसभाका सांसद देवीप्रसाद (डिपी) त्रिपाठीले सोमबार आफ्नै निवासमा भने, ‘नोभेम्बर २१ मा विदेशमन्त्रीसहितको बैठकमा पनि यो चेतावनी दिइसकेका छौँ, अब छाड्नेवाला छैनौँ ।’
कंग्रेससहितका सबै विपक्षी एकजुट
विदेशमन्त्रीसहितको बैठकमा कंग्रेस नेता डा. करण सिंह, माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येंचुरी, सिपिआईका सांसद डी. राजालगायत सहभागी थिए । बैठकमा सबैजसो सांसदले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर भारतले ठूलो गल्ती गरेको टिप्पणी गरेका थिए । उनीहरूले एक सातासम्म नाका नखुले संसद् अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।
रक्सौलबाहेकका नाकामा किन अवरोध ?
‘मधेसमा आन्दोलन छ, त्यसकारण ट्यांकर र कन्टेनरवालाहरू गएनन् भन्ने जवाफले पुग्दैन, रक्सौलभन्दाबाहेकका नाकामा कुनै अवरोध छैन, कुनै असुरक्षा छैन, तर भारतले ती नाकाबाट तेल, ग्यास र सामान पठाएको छैन, यो उसको नाकाबन्दी नै हो भन्नेमा हामी स्पष्ट छौँ,’ त्रिपाठीले भने, ‘जुनसुकै तहबाट भएको होस्, यो नेपालमाथिको अन्याय हो, यसबाट भारतकै भलो हुँदैन भनेका छौँ । सरकारले चित्तबुझ्दो जवाफ दिएको छैन ।’
भारतका शीर्ष नेतालाई फकाउदै साउथब्लक
- भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन (भारत र भुटान हेर्ने निकाय) का अधिकारीले केही दिनयता नेपालसँग सरोकार राख्ने भारतीय नेता र बुद्धिजीवीलाई भेटेर मधेस मामिलामा लिएको अडानबारे ब्रिफिङ गरेका छन् । विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अभय ठाकुरसहितले शुक्रबार जनता दल युनाइटेड (जेडियू)का अध्यक्ष शरद यादवकहाँ गएर ब्रिफिङ गरेका थिए । बिहार सरकारको नेतृत्वकर्ता जेडियूका अध्यक्षलाई उनीहरूले गरेको ब्रिफिङपछि यादवले आफू नेपालका विषयमा विस्तृतमा धारणा राख्ने अवस्थामा नरहेको बताएका छन् ।
- ‘मलाई अधिकारीहरूले घरमा आएर नेपाल मामिलाका विषयमा ब्रिफिङ गरे, कतिपय विषयमा म आफैँ पनि जानकार छु, त्यसकारण मैले अहिले नेपालबारे विस्तृतमा बताउन सक्ने अवस्था छैन,’ यादवले तुगलग रोडस्थित निवासमा नयाँ पत्रिकासँग भने, ‘नेपालका दलहरू मिलेर समस्या समाधान गरून्, मैले भन्ने यत्ति हो ।’
- स्रोतका अनुसार नेपाल मामिलामा साउथब्लक यति धेरै हाबी छ कि भन्सार नाकाबाट कति कन्टेनर सामान र कति ट्यांकर तेल नेपाल पठाउने भन्ने अन्तिम निर्णय उसैले लिन्छ, त्यहीअनुसार एसएसबीले गाडी छाडिदिन्छ । ‘विदेश मन्त्रालयले तोकेभन्दा बढी एउटा पनि गाडी नेपाल छिर्दैन, तर मन्त्रालयका कर्मचारीले नेपाललाई सहज पार्न हामी सहजीकरण गरिदिन्छौँ भन्छन्, रेस्पोन्सचाहिँ पछिल्लो दिनमा राम्रो गरिरहेका छन्,’ नेपाली कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो
- नयाँदिल्लीबाट पर्शुराम काफ्लेको रिपोर्ट