भारतले वार्ताको लागि सकारात्मक तत्परता देखाएनः परराष्ट्रमन्त्री

196
  •  
  •  
  •  

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्री ज्ञवालीले नेपालले पटक–पटक वार्ताका लागि कोशिस गर्दा पनि भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको बताए ।

उनले कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरे । उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।

दोस्रो दिनको बैठकमा १८ जना सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताएका छन् ।

स्थायी कमिटीको अर्को बैठक भोलि ११ बजे बस्नेछ ।


  •  
  •  
  •