वातावरण प्रदूषण गर्ने यी ३३ उद्योग कारबाहीमा

281
  •  
  •  
  •  

काठमाडौं, २२ चैत-  सरकारले वातावरणीय मापदण्डहरू पालना नगर्ने ३३ औद्योगिक प्रतिष्ठानहरूलाई कारबाही गरेको छ । वातावरण विभागले ७० उद्योग तथा औद्योगिक प्रतिष्ठानहरूको अनुगमन गरेर प्रदूषण गरेका ३३ उद्योगलाई कारबाही गरी जरिमाना तिराइएको हो।

वातावरण विभागले कारबाही गरेका उद्योगमा २० प्लास्टिक उद्योग, २ दुग्ध उद्योग, २ फर्मेन्टेसन उद्योग, २ देक्सटायल उद्योग, २ सरफेर फिनिसिङ उद्योग, १ सिमेन्ट उद्योग र ३ अन्य उद्योग रहेका छन् । तनहुँको आबुखैरेनीस्थित अरनिमा आबुखैरेनी सिमेन्ट उद्योगलाई वातावरण संरक्षण ऐन २०५३ को दफा १८ को उपदफा २ बमोजिम ५० हजार जरिमाना गरिएको छ । यस्तै, मोरङको टंकिसिनुवारीस्थित कमला रोलिङ मिल्सलाई पनि ५० हजार जरिमाना तोकिएको छ । विभागका अनुसार काठमाडौं दुग्ध वितरण आयोजना बालाजु औद्योगिक क्षेत्रलाई ५० हजार जरिमाना गरिएको छ । यस्तै, तनहुँको शुक्ला गण्डकी नगरपालिकास्थित हारती एग्रिगेट इन्डस्ट्रिजलाई पनि ५० हजार जरिमाना तोकिएको छ । यस्तै, काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको विष्णु टेक्सटायल प्रोसेसिङ इन्डस्ट्रिज र नुवाकोटको राजमाटेस्थित हीरा टेक्सटाइललाई पनि ५० हजारका दरले प्रदूषण गरेबापतको जरिमाना गरिएको विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडीले जानकारी दिए ।

प्रदूषण गरेर कारबाहीमा परेका उद्योगमा पोखरा औद्योगिक क्षेत्रको पोखरा नुडल्स र सुजल डेरीलाई ५० हजारका दरले जरिमाना गरी कारबाही गरिएको महानिर्देशक दुवाडीले जानकारी दिए । उनका अनुसार कारबाहीमा परेको काठमाडौंको गोंगबुस्थित रहेको विवेद विप्ल स्टोर र गणेशस्थान विविध स्टोर्सलाई प्लास्टिक झोला प्रयोग गरेर वातावरण प्रदूषण गरेको भन्दै १० हजारका दरले जरिमाना गरिएको छ । यस्तै, कपनको सबनम प्लास्टिक उद्योगलाई मापदण्डविपरीतका प्लास्टिक झोला उत्पादन गरेको भन्दै ५० हजार जरिमाना तोकिएको छ ।

यसैगरी, वातावरण प्रदूषण गरेर कारमाहीमा परेको उद्योगमा नवलपरासीको गैंडाकोटस्थित गोखौ बु्रअरीलाई ५० हजार जरिमाना गरिएको छ । यस्तै, काठमाडौंको कालिमाटिस्थित महर्जन स्टोरले मापदण्डविपरीतको प्लास्टिक झोला बिक्री वितरण गरेको पाइएकाले ३५ हजार जरिमाना तोकिएको विभागका महानिर्देशक दुवाडीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं महानगरपालिका–१३ को दुंगेल प्लास्टिक पसललाई मापदण्डविपरीतका झोला बिक्री वितरण गरेको भन्दै ३० हजार जरिमाना गरिएको छ । यस्तै, पाटन औद्योगिक क्षेत्रको राधाकृष्ण प्लास्टिक उद्योगलाई मापदण्डविपरीतको प्लास्टिक झोला उत्पादन गरेको भन्दै ५० हजार जरिमाना तोकिएको छ । वातावरण प्रदूषण गरेको भन्दै जगदम्बा स्टिल उद्योगलाई कारबाही गरी ५० हजार जरिवाना तिराइएको छ । वातावरणीय मापदण्डविपरीत सञ्चालित काठमाडौं माछापोखरीको कान्तिपुर प्लास्टिक सप्लायर्सलाई २५ हजार रुपैयाँ जरिमाना गरिएको छ भने काठमाडौं महानगरपालिकाको लगनचोकको न्यु आरके सप्लायर्सलाई १० हजार जरिमाना गरिएको विभागले जनाएको छ । यस्तै, कोटेश्वरको कञ्चन प्लास्टिक ट्रेडर्सलाई १० हजार रुपैयाँ जरिमाना गरिएको छ ।राजधानी दैनिकमा खबर छ ।

यस्तै, नयाँ बजारको एनके प्लास्टिक स्टोरलाई १५ हजार, कालिमाटीको अधिकारी प्लास्टिक स्टोरलाई ५ हजार र बांगेमुढाको राजु प्लास्टिकलाई १० हजार रुपैयाँ जरिमाना तिराइएको वातावरण विभागले जनाएको छ । यस्तै, काभ्रेको पनौतीस्थित आरटी मार्केटिङले प्लास्टिक झोला बिक्री वितरण गरेको पाइएकाले २० हजार जरिमाना गरिएको छ ।


  •  
  •  
  •