इमरानले पहिलो पत्नीसँग मन्जुरी लिएपछि रेहामसँग विवाह गरेको स्विकारे

117
  •  
  •  
  •  

काठमाडौ, २२ पुस(एजेन्सी) : क्रिकेटरबाट नेता बनेका पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका नेता इमरान खानले टिभी एंकर रेहाम खानसँग विवाह गरेको स्विकार गरेका छन् । उनले लण्डनको विमानस्थलमा यस्तो स्विकार गरेका हुन् र उनले चाँडै नै गुड न्युज दिने समेत बताएका छन् ।

सञ्चारमाध्मयहरूका अनुसार उनले मंगलबार इस्लामावादमा पत्रकार सम्मेलन गरेर यसको बारेमा औपचारिक रूपमा जानकारी दिन सक्छन् । लण्डन विमानस्थलमा रेहामसँग विवाहको विषय सही भएको बताउँदै उनले आफूसँग लुकाउने कुनै कुरा नभएको बताएका छन् । इमरान खान शनिबार लण्डनमा आफ्नी पहिलो पत्नी र बच्चाहरूलाई भेट्न पुगेका थिए । सञ्चारमाध्यमहरूका अनुसार इमरानले पहिलो पत्नी जेमिमासँग विवाह गर्ने मन्जुरी समेत लिएका थिए । गत वर्ष नोभेम्वर महिनामा पनि इमरानको रेहामसँग विवाहको चर्चा भएको थियो । तर, त्यसबेला उनले विवाह गरेको भनाईलाई अस्विकार गरेका थिए र यसलाई हल्ला मात्र भएको बताएका थिए ।

को हुन् रेहाम खान ?

रेहाम खान अहिले डन न्युजमा काम गर्छिन् । यो भन्दा अगाडि बीबीसीका लागि मौसमको बुलेटिन पढ्ने गर्थिन् । रेहाम पारपाचुके गरेकी महिला हुन् र पहिलो विवाहबाट उनका तीन सन्तान छन् । उनले आफ्नो चिकित्सक पतिसँग पारपाचुके गरिसकेकी छिन् । रेहामको जन्म लिबियामा भएको थियो, तर उनका आमा बाबु भने पाकिस्तानी हुन् ।

यता इमरान खानको पहिलो विवाह जेमिमा खानसँग भएको थियो तर, २००४ देखी यी दुईको बाटो नै अलग भएको थियो । जेमिमा खान ब्रिटेनको एक निकै ठुलो र ताकतवर परिवारकी सदस्य हुन् । जेमिमा र इमरानका दुई सन्तान छन् ।


  •  
  •  
  •