तिजमा व्रत बस्ने कि उपवास ?

821
  •  
  •  
  •  

सम्झना गैरे
काठमाडौं, ११ भदौ (ओएनएस) : धार्मिक मान्यताअनुसार पार्वतीले महादेव पतिका रुपमा पाउँ भनी व्रत बसिन् । उनले घरपरिवार र साथीभाईबाट हराएर तपस्या गरेको र इच्छित फल पाएको दिनलाई ‘हरितालीका’ अर्थात तिज’ का रुपमा मनाउन थालियो । तिजका दिन व्रत बस्नका लागि दरिलो बन्न अघिल्लो दिन दर’ खाने प्रचलनको सुरुवात गरिएको सुनाउँछन् संस्कृतीविद् चिन्तामणी योगी । ‘यो एक दिन दर खाने प्रचलन आजभोली महिनौ दिन लम्बिएको छ । दरको महत्वलाई हामीले नै घटायौं ।’

पार्वतीले श्रृंगारमुक्त भएर तपस्या गरिन् । तर, नेपाली समाजमा आजभोली दर खाने र व्रत बस्ने चलनमा श्रृंगार हावी हुन थालेको छ ।’ संस्कृतीविद् योगी तिजको धार्मिक मान्यता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छन् । ‘अध्यात्म र ब्रतको सम्बन्ध मनसँग जोडिएको हुन्छ । पवित्र भावनाले बसिने ब्रतलाई आधुनिक फेसनले छोयो,’ भन्दै योगीले तिजको महिमा सुनाए, ‘तिजको धार्मिक, सामाजिक र पारिवारीक महत्व छ । पुरानो समाजमा तिजलाई माईतीसँग नजिक हुने पर्वका रुपमा हेरिन्थ्यो । वर्षभरी घरको काम, खेतीपातीमा व्यस्त हुने महिलालाई विश्राम गर्ने, दर खाएर दरिलो बन्ने, साथीभाईसँग जमघट भई आ-आफ्ना कथाव्यथा सुनाउने मौकाका रुपमा लिइन्थ्यो । समाजशास्त्रका हिसाबले फरक–फरक भुगोलका बारेमा गीतका माध्यमबाट जानकारी पाइन्थ्यो । प्रकृतीको आसपासमा बसेर गीत गाउने र नाच्ने प्रचलन थियो । चौतारीमा बसेर गाउँदा र नाच्दा शरीरलाई समेत फाईदा पुग्थ्यो । तर, आजभोली गाउँने र नाच्ने होटलमा हुन्छ, त्यो पनि टिकट सिस्टममा ।’

तिज मनाउने वास्तविक शैलीलाई सम्झिँदै योगीले तिजका ब्रतका सम्बन्धमा धार्मिक प्रसंग उप्काए, ‘व्रत बस्दा एउटा न एउटा संकल्प गरिएकै हुन्छ । माता पार्वतीले पनि शिवजी पाउँ भनी संकल्प गरिन् तर, शिवजीको आयू र स्वास्थ्यको कुरा गरिएको थिएन । आजको समाजमा तिजको व्रतलाई किन पतिको स्वास्थ्य र दिर्घायूको बाहाना दिइयो मैले बुझेको छैन ।’

तिजका दिन हामीले व्रत बस्छौ वा उपवास यस विषयमा प्रष्ट हुनुपर्ने योगीको तर्क छ । ‘उपवासनो इटीङ’ अर्थात निराहार भनिन्छ । तर, व्रत खाएर पनि हुन्छ । हल्का फलफूल, दुध अथवा एक छाक चोखो खाना खाएर पनि बस्न सकिन्छ । निरआहार बस्दैमा पतिको आयू बढ्ने होईन् ।’ भन्दै उनले स्वास्थ्य अवस्थालाई हेरेर व्रत बस्ने संकल्प गर्न आग्रह गरे ।

हरेक महिलाले तिजमा व्रत बस्दा परिवारकै कल्याणको कामना गर्ने भएकाले पतिले पनि उनीबाट दिर्धायूको आर्शिवाद थाप्छन् । यसरी हेर्दा यो चाडले परिवारमा महिलाको स्थान, महत्व र महिला सशक्तिकरणमा समेत योगदान पुर्याएको योगीको धार्मिक विश्लेषण छ । तर, आजभोली पतिका नाममा बसिने व्रतलाई महिला अधिकारको हनन्को मुद्दा बनाउनुलाई चिन्तनको अभाव बताउँछन् उनी । ‘दिदीबहिनीले प्राप्त गरेको धार्मिक शक्तिले परिवारलाई बचाएको छ । महिलाको यो शक्तिबारे समाज किन अनविज्ञ छ ?’ उनले प्रश्न तेस्र्याए ।


  •  
  •  
  •