काठमाडौँ, ५ मंसिर : अन्तर्राष्ट्रिय मुद्रा कोषले भूकम्प र नाकाबन्दीले नेपालको आर्थिक वृद्धि न्यून हुने तर चाँडै पुनर्निर्माणले गति पाए अनि स्थिरता भए आर्को वर्ष चाहीं गतिलै सुधार हुनसक्ने आशा व्यक्त गरेको छ ।
आर्टिकल फोर भनिने आवधिक रुपमा गरिने विस्तृत छलफल र अध्ययन पश्चात कोषले आफ्नो भनाई सार्वजनिक गरेको छ ।
चिन्ता
वाशिङटनस्थित अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो समीक्षाले खासगरी व्यापारमा आएका अवरोध अनि सार्वजनिक विकास खर्च न्यून भएको प्रति चिन्ता जनाएको छ ।
उसले गरेको समीक्षाबारे राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. स्वर्णिम वाग्ले भन्छन्, “पुनर्निर्माणले गति लिन्छ र त्यसमार्फत हुने पूँजी निर्माणका कारण अर्थतन्त्र चार प्रतिशतभन्दा केही माथिले वृद्धि हुने उनीहरुले विगतमा अनुमानमा गरेका थिए। तर पछिल्लो मधेश आन्दोलन र नाकाबन्दीको कस्तो पटाक्षेप हुने हो भन्ने प्रष्ट नभइसक्दा उनीहरुले यसले वृद्धि दरमा कति धक्का दिन्छ भनेर भन्न सकेका छैनन् ।”
कोषले नेपालको समग्र अर्थतन्त्रको व्यवस्थापन सन्तोषजनक नै रहेको भएपनि भूकम्प र पछिल्ला यातायात र व्यापार अवरोधले त्यसलाई असर पारिरहेको जनाएको छ ।
उसले तत्काल पूँजीगत वा विकास खर्चमा वृद्धि गर्न समग्र अर्थतन्त्रको स्थिरता कायम राख्न अनि वृद्धि हासील गर्न नीतिगत सुधारका उपाय अपनाउन नेपाललाई सुझाव दिएको छ ।
“छिट्टो संयन्त्र बनाएर पुनर्निर्माणलाई गति देउ नत्र यसले अर्थतन्त्रलाई अघि बढाउने आशा पूरा हुन ढिलाई हुने उनीहरुको चिन्ता छ। साथै परम्परागत विकास संयन्त्रलाई पनि अलि चलायमान गराऊ भन्ने उनीहरुको आग्रह हो,” वाग्लेले बताए ।
खराब स्थितिका माझ केही सकारात्मक पाटोको उल्लेख गर्दै कोषले भनेको छ, भूकम्पश्चात ओइरिएको रेमिट्यान्स तथा विश्व बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण नेपालको विदेशी मुद्राको सञ्चिति बढेर सवा सात अर्ब अमेरिकी डलर पुगेको छ – जसले देशको आठ महिनाको आयात धान्न सक्छ ।
– बिबिसी नेपालीबाट