बदलिँदो मौसमका कारण भाइरलका बिरामी बढे

328
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (अाेएनएस): बदलिँदो मौसमका कारण भाइरलका बिरामी बढ्न थालेका छन् । गर्मीयाम शुरु भएसँगै पर्वतमा भाइरल र ज्वरोका बिरामी उच्च दरमा बढी रहेकाे जिल्ला अस्पताल पर्वतले जानकारी दिएको छ ।

जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १ सय २० जनाकाे हाराहारीमा भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत एक सातादेखि तेब्बरको संख्यामा वृद्धि भएका छन् । जिल्ला अस्पतालसँगै पर्वतका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार २ महिना समय अघिको तुलनामा यतिबेला तेब्बरको संख्यामा भाइरलका बिरामी बढेको बताइएको छ ।

भाइरलको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकैघरमा चारपाँच जनाको संख्यामा उपचारका लागि आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिनुभयो । वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको अस्पतालका डा थापाले जानकारी दिए । यसबाट बच्न दूषित खाना र खानेपानी प्रयोग नगर्ने र कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव दिएको डाक्टर थापाले बताए ।

जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमा पनि भाइरलका बिरामीको संख्या बढेको जनाएका छन् । शुरुमा टाउको दुख्ने, जीउ दुख्ने, रुघा खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउ आउने र उच्च ज्वरो आएर परिक्षण गर्न आउने बिरामीको संख्या बढेको हो ।


  •  
  •  
  •