राप्रपाले पायो ‘इन्टरनेसनल डेमोक्राटिक युनियन’को सदस्यता

200
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्रवादी राजनीतिक दलहरूको छाता संगठन ‘इन्टरनेसनल डेमोक्राटिक युनियन’को सदस्यता पाएको छ ।

युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको हो । क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यता दिने प्रस्ताव अष्ट्रेलियाका सत्तारुढ दल लिबरल पार्टी अफ अष्ट्रेलियाले गरेको थियो ।

उक्त प्रस्तावमा माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए ।

नसिरले दक्षिण एसियाली मुलुकबाट थप सदस्य भएकोमा खुसीसमेत व्यक्त गरेका थिए । विश्वका ७६ कन्जर्भेटिभ राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी थिए ।

बैठकमा अध्यक्ष थापाले संसारका सबै मुलुकको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा थप चुनौतीहरू देखापरेको चर्चासहित प्रजातन्त्रवादी पार्टीहरूको एकता र सहकार्यको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुत र सुदृढ तुल्याउन आइडियूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

युनियनको मूल्य र मान्यताप्रति राप्रपा प्रतिबद्ध रहेको भन्दै थापाले विश्वासका साथ सदस्यता प्रदान गरी सहकार्यको निम्ति अवसर प्रदान गरेकोमा युनियन र सम्बद्ध सबैलाई आभारसमेत व्यक्त गरे ।

संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा आयोजना हुने बैठक कोभिड–१९ का कारण भर्चुअल बैठक गरिएको हो । बैठकले नेपालसहित युक्रेन, स्विडेन, अल्बानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको हो ।

पार्टीका नेता राजाराम बर्तौलाका अनुसार युनियनको आगामी अन्तर्राष्ट्रिय सम्मेलनले यो निर्णयको अनुमोदन गर्दै राप्रपालाई पूर्ण सदस्यता प्राप्त हुनेछ ।


  •  
  •  
  •