मुस्लिम समुदाय इदुल फित्र मनाउँदै

298
  •  
  •  
  •  

काठमाडौं १३ साउन (ओएनएस) : मुस्लिम समुदायका नागरिकले आज धार्मिक पर्व इद मनाउँदैछन् । हिजो रोजा सम्पन्न भएपछि आज इद मनाउन लागिएको हो । मुस्लिम समुदायका नागरिक यो पर्वका लागि गएको असार महिनाको १६ गतेदेखि उपवास अर्थात् रोजा बसेका थिए । विशेष महत्व राख्ने रमजान महिनामा मुसलमान कुरान पाठ गर्ने, अल्लाहको एवादत गर्ने, झुठो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखी असल काम गर्ने गर्दछन् । यो पर्वमा मुसलमानहरूमाझ इदगाहमा गई सामूहिक रूपमा प्रार्थना गरी आ–आफ्ना घरमा मीठो परिकार खाई खुसियाली साटासाट गर्ने चलन छ । यो पर्वलाई इदुल फित्र पनि भनिन्छ । इदुलफित्रको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

यसैबीच राष्ट्रपति डा रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा राष्ट्रपति डा यादवले लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी भाइचारा अभिवृद्धि गर्न सहयोग पु¥याउने यस चाडले मुसलमान समुदायमा विशेष महत्व राख्ने उल्लेख छ । त्यसैगरी उपराष्ट्रपति परमानन्द झाले पनि सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विको कामना गर्दै यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले इद उल फित्रका अवसरमा शुभकामना सन्देशदिदै स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुसलमान समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना  व्यक्त गरेका छन् ।


  •  
  •  
  •