इच्छाराजको सीटीसी मल लिलामीमा

109
  •  
  •  
  •  

काठमाडौं । ठगीको आरोपमा कारगारमा रहेका इच्छाराज तामाङको कम्पनी सिभिल इस्टेट्स प्रालिको नाममा रहेको सीटीसी मलका केहि पसलहरु लिलाम बिक्रीमा राखिएको छ । कर्मचारी सञ्चय कोषले एकसय ३२ वटा पसल कबल लिलाम बिक्रीमा राखेको हो । उक्त कम्पनी उद्योग विभागमा २०६४ असोज ९ गते दर्ता भएको थियो ।

काठमाडौं महानगरपालिका वडा नं ११ सुन्धाराको कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा सीटीसी मल निर्माण भएको छ । ८२ हजार ०९५ वर्ग फिट बराबरको एक सय ३२ वटा पसल कबल कोषले लिलामीमा राख्ने गरी सोमबार सूचना जारी भएको हो ।

कम्पनीले म्यादभित्र कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्था उल्लंघन गरेको भन्दै कोषले सम्पत्ति लिलाम बिक्रीका लागि आह्वान गरेको छ ।

तामाङले कोषलाई बुझाउनुपर्ने रकम लिलाम बिक्रीको सूचना बमोजिम म्याद भित्र बुझाएमा भने लिलाम प्रक्रिया अन्त्य हुनेछ । सूचना जारी भएको अर्थात् सोमबारबाट ३० दिनभित्र ऋण चुक्ता गरिसक्नुपर्ने छ ।

सिभिल सहकारीका निक्षेपकर्ताको करिब सात अर्ब रुपैयाँ ठगीको आरोपमा घरजग्गा व्यवसायी तामाङ थुनामा छन् ।


  •  
  •  
  •