विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान पराजित

264
  •  
  •  
  •  

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएको छ ।  इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो ।

३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो ।
४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले ४० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाएपछि ८९ रनले हार ब्यहोरेको हो । पाकिस्तानका लागि फखर जमानले ६२ रन बनाएका थिए भने बाबर अजामले ४८ रन बनाउँदा इमाद वासिमले अविजित ४६ र शादब खानले अविजित २० रन बनाए ।

यता, भारतका लागि विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले समान २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो । भारतको लागि ओपनर रोहित शर्माले शतक बनाउँदै उकासेका थिए ।

रोहितले १४० रन बनाएर आउट भए । उनले ११३ बलमा १४ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर केएल राहुलले ५७ रन बनाए ।

पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गर्दै भारतलाई उकासेका थिए । त्यस्तै, विराट कोहली ७७ रन बनाउँदा हार्दिक पाण्ड्या भने २६ रनमा आउट भएका थिए ।


  •  
  •  
  •