कुनै पनि हालतमा सभापतिमा उठ्छु : पौडेल

216
  •  
  •  
  •  

ramchandra-paudelविराटनगर, २४ पुस(ओएनएस) : नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी महाधिवेशनमा आफूले सभापति पदका लागि उम्मेदवारी दिने बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेक्रममा विराटनगर विमानस्थल पुगेका पौडेलले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू कुनै पनि हालतमा सभापति पदमा उठ्ने दावी गरेका छन् । उनले आफूले सभापतिमा उम्मेदवारी दिनका लागि थुप्रै तयारी गरेको बताउँदै सभापति सुशील कोइरालाले पनि आफूलाई सहयोग गर्ने दावी गरेका छन् ।

उपसभापति पौडेलले केपी ओली नेतृत्वको सरकार ढाल्न आवश्यक नरहेको बताएका छन् । उनले कांग्रेस अहिले नै सरकार ढाल्ने पक्षमा नरहेको बताउँदै सरकारलाई सुधार्नका लागि आफूहरूले कडा प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन् । उनले आफूहरूले सरकारलाई कालोबजारी नियन्त्रण गर्नका लागि निरन्तर खबरादारी गरिरहेको बताए ।

यस्तै, उपसभापति पौडेलले मधेसको आन्दोलन सम्बोधन गर्नका लागि मोर्चा सकारात्मक रूपमा आएको भन्दै संशोधन प्रस्ताव पारित भएपछि आन्दोलन टुङ्गिने र नाकाबन्दी खुल्ने दाबी गरेका छन् । मधेसी दलहरू समस्याको निकास खोज्नका लागि गम्भिर र लचिलो देखिएको भन्दै उनले यसका लागि कांग्रेसले मोर्चालाई सकारात्मक बाटोमा ल्याएको दावी समेत गरेका छन् ।

कांग्रेसको कार्यक्रममा सहभागी हुन पौडेलको नेतृत्वमा मिनेन्द्र रिजाल, महेश आचार्यसहितका नेता शुक्रबार बिराटनगर पुगेका छन् ।


  •  
  •  
  •