फटाफट काम गर्न सकिन : प्रधानमन्त्री

157
  •  
  •  
  •  

काठमाडौँ, १० पुस(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितमा फटाफट काम गर्ने सोच बनाएपनि परिस्थिति त्यसको प्रतिकूल देखिएको बताएका छन् ।

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आयोजना गरेको ‘नयाँ संविधान र सेवा प्रवाहको सन्दर्भमा जवाफदेहिता’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सानो र छरितो मन्त्रिपरिषद् बनाएर फटाफट काम गर्न चाहेपनि परिस्थिति प्रतिकूल देखिएको बताएका छन् । उनले आफूले सुरूवातमा नै सबै काम ठिक गर्छु भनेर लाग्दा सहज नहुने बल्ल थाहा पाएको बताउँदै अब आफूले ठिक बाटो समातेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए ।

संविधानलाई अवमूल्यन गर्ने, संवैधानिक हैसियत घटाउने प्रयासस्वरुप आइरहेको विचारको अब कुनै अर्थ नरहने बताउँदै प्रधानमन्त्री ओलीले संविधानसभाबाट विधि प्रक्रिया पूरा गरेर धेरै सुदृढ र संवैधानिक हैसियतका साथ संविधान आएको उल्लेख गरेका छन् ।

उनले नयाँ संविधान ठुलो उपलब्धी भएको बताउँदै पहिले जस्तो थिचोमिचो गर्न नसकिने बताएका छन् । मुलुकको भौगोलिक, जातीय, आर्थिक र सामाजिक विविधतालाई बुझेर राष्ट्रिय एकता बलियो हुने संविधान निर्माण गरिएको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।

एक सय पच्चीस जातजाति, भाषाभाषी र भौगोलिक विविधता समेतलाई ध्यानमा राखेर मुलुकलाई सुशासन र समृद्धितर्फ लैजाने सङ्कल्पसहित संविधान जारी गरिएको बताउँदै प्रधानमन्त्री ओलीले भने – “त्यसकारण यो संविधान देश बनाउनका लागि अनुकूल छ, अगाडि जान्छ ।”

आपूर्ति सहज बनाउन, भूकम्पपीडित जनतालाई सकेसम्म छिटो राहत दिन र कानुन विहीनताको अबस्था रहन नदिन सहमतिका साथ जानुको अर्को विकल्प नरहेकामा त्यसमा समेत बाधा खडा गरिएको बताउँदै प्रधानमन्त्री ओलीले केही दिनभित्रै प्रभावकारी कदम चालेर तस्करी र कालोबजारीलाई नियन्त्रण गर्ने अठोट व्यक्त गरे ।


  •  
  •  
  •