‘स्वदेशी लगानी, प्रविधि, जनशक्ति र कन्स्ट्रक्सन कम्पनीबाट विद्युत उत्पादन गरौं’

338
  •  
  •  
  •  

काठमाडौं, २३ चैत (ओएनएस) : जलविद्युत सम्बन्धिका जानकार डाक्टर कृष्णकान्त पन्थीले जलविद्युत उत्पादन र प्रयोगबाट मात्रै देशको विकास हुने बताएका छन् । कलकारखाना तथा उद्योगधन्दा सञ्चालनका लागि आन्तरिक उर्जा श्रोत अर्थात जलविद्युत नैं नेपालका लागि दिगो उर्जाशक्ति भएको उनको भनाइ छ ।

ओएनएससँग कुराकानी गर्दै पन्थीले भने, ‘नेपालको विकास गर्ने हो भने पहिले सुशासन त्यसपछि आन्तरिक उर्जा शक्तिको सहि प्रयोग गर्नुपर्छ । बाहिरबाट ल्याएको पेट्रोलियम पदार्थबाट उद्योगधन्दा सञ्चालन गर्नु दिगो हुँदैन र खर्चिलो पनि हुन्छ । देशमैं भएको उर्जाको श्रोत परिचालन गरे मात्रै दिगो र कम खर्चिलो हुन्छ ।’

विद्युत उर्जाको माध्यमबाट नेपालले सिमेन्ट उत्पादन, कृषिजन्य उत्पादनको प्रशोधन, पर्यटन प्रवर्द्धन, खनिज पदार्थको प्रशोधन गरेर पनि विदेशीमुद्रा भित्रयाउन सक्ने उनको तर्क थियो । त्यसका लागि आवश्यक पर्ने उर्जा शक्तिका रुपमा विद्युतलाई मात्रै प्रयोग गर्न सकिने उनले बताए ।

स्वदेशी लगानी, प्रविधि, जनशक्ति, कन्स्ट्रक्सन कम्पनीको प्रयोग तथा क्षमता विकासबाट मात्रै जलविद्युत उत्पादन सम्भव रहेको उनको दावी थियो । पन्थी भन्छन्, ‘राजनीतिक अस्थिरताका कारण लगानीमैत्री वातावरण बन्न सकेको छैन । जसका कारण जलविद्युतका विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरु पलायन भैरहेका छन् । देशमैं भएका जनशक्तिको इम्पावरमेन्ट र नेपाली कन्स्ट्रक्सन कम्पनीको प्रवर्द्र्धन गर्न जरुरी छ । कन्स्ट्रक्सन कम्पनी, डिजाइनर इन्जिनियर नेपाली नैं भए भने जलविद्युत उत्पादनका क्रममा आइपर्ने समस्या समाधान गर्न पनि सजिलो हुन्छ ।’

आफ्नो पुँजीलाई स्वदेशमैं राख्ने हो भने देशभित्रकै जनशक्ति तथा स्वदेशी कन्स्ट्रक्सन कम्पनीको संस्थागत र संरक्षण गर्नु पर्ने पन्थीले बताए । बन्द हडताल, तोडफोड तथा गुण्डा लगाएर परियोजना घेर्ने लगायतका काममा राजनीतिक दल तथा नेताहरु लागेका कारण आयोजना बन्नमा ढिलाई भएको डाक्टर कृष्णकान्त पन्थीको भनाइ छ ।

उनी भन्छन्, ‘नेताहरु चुनिने होइन बुझिने हुनुपर्छ । देशको सम्भावना के छ ? कमजोरी के छन् भनेर पत्ता लगाउनु पर्ने र कमजोरीलाई न्यूनिकरण गरी सम्भावनाका क्षेत्रमा लगानी गर्नु पर्ने सकारात्मक वातावरण बनाउनु पर्ने हो । बन्द हड्ताल, तोडफोड गरेर, गुण्डा लगाएर आयोजना घेरेर देश कसरी बन्छ ?’ नेपालमा जलविद्युत आयोजना निर्माणका लागि दक्ष जनशक्ति प्रशस्त रहेको उनको तर्क छ ।

‘नर्वेजियन युनिभर्सिटि अफ साइन्स एण्ड टेक्नोलोजीमा नेपालबाट ९२ जना नेपालीले मास्टर्र्स गरिसकेका छन् ।’ डाक्टर कृष्णकान्त पन्थी भन्छन्, ‘काठमाडौं र त्रिभुवन विश्वविद्यालयबाट पनि मास्टर्स गरेका विद्यार्थीउहरु छन् । तर उनीहरुको क्षमता तथा विज्ञतालाई राज्यले चिन्न सकेको छैन ।’

विशेषज्ञता हासिल गरेपछि प्रयोग गर्न खोजिने तर अवसर नपाउने गरेका कारण जलविद्युत सम्बन्धी विशेषज्ञता हासिल गरेका व्यक्तिहरु पलायन हुने गरेका छन् । नेपालमा जलविद्युत उत्पादनका लागि लगानीको समस्या नभएको बताउँदै उनले स्थिर राजनीति, सुशासनको प्रत्याभुती र सकारात्मक सोचको आवश्यकता औंल्याए ।

उनले भने, ‘नेपालमा लगानीको समस्या छैन भन्ने कुरा त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पनि देखाएको छ । वातावरण बन्दै गएपछि विदेशी लगानीकर्ताको पनि सँख्या बढ्छ । नेपालमा पटक पटक हुने गरेको बन्द हड्ताल उनीहरुका लागि सबैभन्दा ठूलो जोखिम हो ।’ नेपाल पहाडी मुलुक भएकोले जलविद्युत उत्पादनका साथै द्रुत मार्गका लागि समेत सुरुङको आवश्यकता पर्ने डाक्टर पन्थीको भनाइ छ ।

डाक्टर पन्थी बिगत ७ वर्षदेखि नर्वेजियन युनिभर्सिटि अफ साइन्स एण्ड टेक्नोलोजीमा टनेल इन्जिनियरिङ तथा रक इन्जिनियरिङ पढाइरहेका छन् । हिमालयन रक (चट्टान) इन्जिनियरिङ विषयमा विद्यावारिधि गरेका डाक्टर कृष्णकान्त पन्थी नर्वेजियन विद्यार्थीका साथ अहिले काठमाडौंमा छन् ।


  •  
  •  
  •