जलविद्युत आयोजना निर्माणमा अवरोध भए सेना परिचालनः उर्जामन्त्री रायमाझी

181
  •  
  •  
  •  

top-rayamajhiकाठमाडौ, ७ फागुन(ओएनएस) : उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अवरोध गरिए सेना परिचालन गरेर भएपनि जलविद्युत आयोजना निर्माण कार्यलाई अगाडि बढाउने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा जलविद्युत आयोजना निर्माणमा कसैले अवरोध गर्न नसक्ने र अवरोध गर्न खोज्नेलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने बताएका छन् । उनले सेना परिचालन गरेर भएपनि जलविद्युत आयोजना निर्माणमा अवरोध हुन नदिने उल्लेख गरेका छन् ।

मन्त्री रायमाझीले आउँदो वर्ष उर्जाको क्षेत्रमा उथलपुथल वर्ष हुनेभन्दै एक वर्षभित्र २५० देखि ३०० मेघावाट सौर्य उर्जा उत्पादन गर्ने र त्यति नै परिमाणमा भारतबाट बिजुली आयात गरेर जनताले महसुस गर्ने गरी आधारभुत रूपमा लोडसेडिङ्ग अन्त्य गर्ने दावी गरेका छन् ।

उनले भने,‘ प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा शनिबारबाट ८० मेघावाट विद्युत आयातको उद्घाटन गर्नु हुन्छ । त्यसपछि एक देखि दुई घण्टा लोडसेडिङ घटाउने र यो वर्ष अहिलेको भन्दा लोडसेडिङ्ग बढ्न दिदैनौ ।’

मन्त्री रायमाझीले मुलुकमा उर्जा विकासको लागि प्रधानमन्त्रीको अध्यक्षतामा उर्जासंकट निवारण आयोग, उर्जामन्त्रीको अध्यक्षतामा केन्द्रीय उर्जा संकट निवारण समन्वय समिति र हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकतत्वमा जिल्ला स्तरीय समिति निर्माण गरेर नियमित सहजीकरण गरिरहने जानकारी दिँदै भने, ‘ उर्जा विकास गरेर मात्रै भएन प्रशारण लाईन पनि चाहियो त्यसकोलागि तराई, मध्य पहाडी लोकमार्ग र रिवर बेस ट्रान्समिसन लाईन अघि बढाउँछौ । योसँगै चीन र बंगलादेशसम्म लाईन बिस्तार गर्ने कामलाई पनि अघि बढाउँछौ । काठमाडौमा पनि ट्रान्समिसन र सब स्टेशनहरु अण्डरग्राउण्ड गर्ने काम अघि बढाउँछौ ।’

मन्त्री रायमाझीले विद्युत विकासकोलागि जेनेरेसन, ट्रान्समिसन र ईन्जिनियरिङ्ग सरकारी कम्पनी निर्माण गर्ने योजना सुनाउँदै अब जेनेरेसन कम्पनीमार्फत जलासाय यूक्त आयोजनहरुको निर्माण र अध्ययन अघि बढाउने र त्यसकोलागि ईपीसीएफ, बीटी, बुट, जी टु जी, कम्पनी, प्राधिकरण वा विकास कुनै एक मोडलबाट उत्पादन गर्ने बताए ।

उनले भने, ‘ जुन सम्भव हुन्छ त्यही मोडलमा गएर विद्युत उत्पादन गर्ने हो । ४० देखि ५० प्रतिसत जलासाययूक्त आयोजना, १५ देखि २० प्रतिशत रनअफ दि रिभर, २५ देखि ३० प्रतिशत पीआरओआर र बाँकी बैकल्पिक उर्जामा जान्छौ ।’

उनले थपे, ‘ १ सय बढी आयोजना सञ्चालनमा छन । अब सबैको काम एक्सनमा जान्छ । अझै तिब्रताका साथ अघि बढाउन सहजीकरण गर्छौ ।’


  •  
  •  
  •