सात दिनभित्र प्राधिकरणको प्रमुख नियुक्त गर्न निर्देशन

83
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस) :  कृषि तथा जलस्रोत समितिले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका सम्बन्धमा भएको पछिल्लो प्रगतिबारे सात दिनभित्र जानकारी गराउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका–संसद्अन्तर्गतको समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले यसअघि दिइएको निर्देशन किन, के कति कारणले कार्यान्वयन नभएको हो, सोको जानकारीसहित पछिल्लो अवस्थाका बारेमा जानकारी गराउन निर्देशन दिएको हो ।

समितिले यसअघि प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति, चालु आर्थिक वर्षमा प्राधिकरणले कार्यान्वयन गर्ने योजनाको कार्यतालिकासहित प्रस्तुत हुन निर्देशन दिएको थियो ।

समितिको निर्देशन ऊर्जा मन्त्रालयले कार्यान्वयन नगरेको भन्दै पुनः  ध्यानाकर्षण गराइएको समितिका सभापति गगन थापाले जानकारी दिए ।

प्रसारण लाइनको अभावमा विद्युत् भार कटौती बढेको, देशीय तथा अन्तरदेशीय प्रसारण लाइनको काम कछुवाको गतिमा अगाडि बढेको,  अनुमतिपत्र मात्रै बाँड्ने काम भएको तथा  बाँडिएको अनुमतिपत्रका आधारमा जलविद्युत् आयोजनाहरु अगाडि नबढेको भन्दै सोबारे जानकारी दिन मन्त्रालयलाई निर्देशन दिएके छ ।

प्राधिकरणले अगाडि बढाएका माथिल्लो त्रिशूली थ्री ए, राहुघाट, चमेलिया, कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको समय र लागत बढ्नुका कारण ऊर्जाले नदिएको भन्दै सांसदहरुले ऊर्जा मन्त्री राधाकुमारी ज्ञवालीलाई सचेत गराएका थिए ।

समितिको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै ऊर्जा मन्त्री ज्ञवालीले उज्यालो नेपाल, समृद्ध नेपालको अभियानमा निरन्तर क्रियाशील रहेको बताइन् ।

सरकारले भारतसँग विद्युत् व्यापार सम्झौता पिटिए गरेको, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रान्धी मल्लिकार्जुन राव ९जिएमआर०सँग आयोजना विकास सम्झौता (पिडिए) गरेको, प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न क्रियाशील रहेको जानकारी गराउँदै समितिको निर्देशन अटेर गर्ने आफ्नो कुनै पनि मनसाय नरहेको बताइन् ।

सर्वोच्च अदालतको आदेशअनुसार प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि प्रक्रिया शुरु गरिसकेको उनको भनाइ छ । सर्वोच्चले मुकेशराज काफ्लेलाई प्राधिकरणको प्रमुख नियुक्त गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।


  •  
  •  
  •