काठमाडौं २७ पुस। विभिन्न बहानामा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा बागलुङ तिताङकी अस्मिता खड्का भक्तपुरबाट पक्राउ परेकी छन्।
‘लोग्ने क्यानडाको जेलमा परेकाले छुटाउनुपर्यो’ भन्नेजस्ता बहानामा लाखौं रुपैयाँ उठाएर गाउँबाट भागेकी खड्कालाई बागलुङ प्रहरीको अनुरोधमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भक्तपुरको दधिकोटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।
विदेश नगएका पति ‘क्यानडाको जेलमा परेकाले छुटाउन’ भन्दै खड्काले बागलुङका थुप्रै सर्वसाधारणसँग पैसा उठाएकी थिइन्। उनी भागेपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी परेको थियो। बागलुङका प्रहरी प्रमुख डीएसपी प्रेम बस्नेतका अनुसार ‘पति विदेशको जेलमा परेकाले छुटाउनुप्यो’ जस्ता निहुँ बनाएर उनले पैसा उठाएकी थिइन्।
सुरुमा २०/२५ हजार हुँदै दुई लाखसम्म सापटी लिएर ३६ प्रतिशत ब्याजमा समेत ऋण तिर्दै आएकी खड्का धेरै पैसा हात परेपछि नतिरी फरार भएपछि पीडितले उजुरी दिएका थिए।
‘खड्काले बागलुङका तारा शाक्य, गोविन्द गौतम, सुमित्रा कार्की, कमला देवी श्रेष्ठलगायतसँग करिब चार करोड रुपैयाँ ठगी गरेको बयान दिएकी छन्’, महाशाखाका एसपी प्रकाश अधिकारीले भने, ‘अनुसन्धानका क्रममा खड्काका पति टीकाबहादुर नेपाली सेनामा केही वर्ष जागिर खाएर छाडेको पाइयो।’
‘अब पैसा फिर्ता हुने आस पलायो’
तारा शाक्य
सुरुमा दिदीबहिनीबाट परिचय भयो। हेर्दा अस्मिता ‘स्मार्ट’ नै देखिन्थी। काठमाडौंमा घरजग्गा छ भन्थी। उसको लगाइखुवाइले विश्वास पनि दिलायो। एक दिन ‘दिदी मेरो लोग्ने टीकाबहादुर खड्का क्यानडामा कमाउन गएको उल्टै झूटो आरोपमा जेल परेछ, उसलाई निकाल्नुपर्यो, पैसा छैन’ भनी।
म पनि सोझो भन्ने कि लाटी? उसको विश्वासमा परें। कति पैसा चाहिन्छ भनेर सोधें। ५० लाख रुपैयाँ भनी। मेरो पति जापानमा आठ वर्ष बसेका थिए। पैसा ब्यांक मा थियो। निकालेर दिएँ।
फेरि पैसा पुगेन दिदी, अरू २० लाख चाहिने भयो भनी। मैले खोजेर २० लाख रुपैयाँ दिएँ। फेरि दिदी ७० लाखले नहुने रहेछ, दुई करोड ५३ लाख रुपैयाँ लाग्ने रहेछ भनी। त्यसपछि शंका लाग्यो।
तर मेरो पैसा फिर्ता पाउन पनि उसको लोग्ने जेलबाट निकाल्नुपर्छ भन्ने लाग्यो। मैले घर बैंकमा राखेर ऋणमा पैसा लिए। दुईवटा गाडी समेत बैंकमा राखेर पैसा दिएँ। अस्मिताले पति जेलबाट निस्कियो भन्दै २० लाख रुपैयाँको चेक बुझाई। मैले पूरै पैसा देऊ भन्दा उसले सापटी लिएर तिर्छु अहिले यति नै लिनु भनेर दिई।
कुमारी बैंकमा गएर चेक साट्दा पैसा थिएन। म छानोबाट खसेजस्तो भएँ। अस्मितालाई खोज्ने प्रयास असफल भएपछि प्रहरीमा उजुरी गरें। अहिले पक्राउ परिछ। अब पैसा फिर्ता हुने आस पलायो। अन्नपूर्णपोष्टबाट