पत्नी बलात्कार गर्ने पतिलाई ८ वर्षपछि जेल

154
  •  
  •  
  •  

काठमाडौ, १८ भदौ : पत्नी बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले ८ वर्षपछि जेल चलान गरेको छ ।

बलात्कार अभियोग मुद्दामा २०६४ माघ १३ गते अदालतले दोषी ठहर गरे पनि फरार रहेका भक्तपुर नगरपालिका-४ का श्रीराम बेकोजूलाई पक्राउ गरी २ महिना १० दिनका लागि जेल चलान गरिएको अदालतका तहसिलदार दीपेन्द्रनाथ योगीले बताए ।

मुद्दा दायर गर्ने पत्नीको भने मृत्यु भइसकेको अदालतले जनाएको छ । जाहेरी गर्ने पत्नीको मृत्यु भइसके पनि अदालतको फैसला कार्यान्वयनका लागि उनलाई जेल चलान गरिएको योगीले बताए ।

त्यस्तै, लागूऔषध गाँजाको मुद्दामा २०६६ मंसिर २९ गते भक्तपुर अदालतले एक महिना कैद र १ हजार जरिवानाको फैसला गरेपछि फरार भएका कृष्ण बयरकोटीलाई पनि पक्राउ गरी डिल्लीबजार कारागार चलान गरिएको अदालतले जनाएको छ । लागूऔषध गाँजाकै मुद्दामा २०६४ वैशाख २ गते अदालतले एक महिना १५ दिन कैद र १ हजार जरिवानाको फैसला गरेको तर फैसला अटेर गरी फरार भएका सुनील नापितलाई कैद भुक्तान गर्न बाँकी रहेको १७ दिनका लागि जेल चलान गरिएको योगीले बताए ।

त्यसैगरी, चोरी मुद्दामा दोषी ठहर गर्दै अदालतले २०६१ फागुन २४ गते ४ महिना कैद र ७ लाख २५ हजार ५ सय जरिवानाको फैसला गरेको तर फरार रहेका साविक सिपाडोल गाविसका राजु ख्याजु सुवाललाई प्रहरीले १० वर्षपछि पक्राउ गरी डिल्लीबजार कारागार चलान गरिएको उनले बताए ।

– कान्तिपुर दैनिकबाट


  •  
  •  
  •