निर्माण व्यवसायीको अभिभावक बन्ने कोइरालाको दाबी

276
  •  
  •  
  •  

काठमाडौं, २३ मंसिर : आगामी मंसिर २६ र २७ गते हुने नेपाल निर्माण व्यवसायी महासंघको १७औं वार्षिक साधारणसभा तथा महाधिवशेनमा नयाँ नेतृत्वकालागि प्रजातन्त्रवादी समूहबाट हुमनाथ कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कोइरालाले महासंघको नीतिगत सुधार एवम् साना व्यवसायीको हकहितकालागि आफू उम्मेदवार बनेको दाबी गरे ।

उनले दुई करोडसम्मको निर्माण कार्यहरुमा बिना योग्यता प्रतिस्पर्धा गर्न पाउने सरकारको नीति तुरुन्त कार्यान्वयन गराउने र दुई करोडभन्दा माथिका निर्माण कार्यको पूर्व योग्यता सरलीकरण गर्नेजस्ता मुद्दा आफ्नो प्राथमिकतामा रहेको बताए ।

‘‘म १७ हजार निर्माण व्यवसायीको सेवक बन्न चाहन्छु र नेपाली माटोको लागि केही गर्न चाहन्छु’’, उनले भने । अध्यक्षका प्रत्याशी कोइरालाले सम्पूर्ण व्यवसायीको शिर ठाडो राख्नकालागि आफूले ‘टायम बाउण्ड विथ क्वालिटि एण्ड क्वान्टिटी वर्क’को अवधारणालाई अघि सारेको पनि स्पष्ट पारे ।

यसअघि उनले आफूले निर्माण व्यवसायी संघ स्याङ्जाको प्रस्तावमा उम्मेदवारी दर्ता गरेको र भक्तपुर संघले त्यसमा समर्थन गरेको समेत जानकारी दिए । कोइरालाले आफूलाई थुप्रै जिल्लाबाट समर्थन आएको समेत प्रष्ट पारे ।

उनले निर्माण व्यवसायीलाई राष्ट्रहितमा उपयोग एवम् समर्पित गराउन आफू लागि पर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।


  •  
  •  
  •