हुम्लाकाे खेलकुद विकासमा सक्रिय बन्दै हुम्ला फुटवल एकेडेमी

126
  •  
  •  
  •  

काठमाडौं । हुम्ला चंखेली गाउँपालिकाकी १६ वर्षीया सोनाम लामालाई विद्यालयमा केटा साथीहरु फुटबल खेलेको देख्दा उनलाई पनि खेलौँ खेलौँ लाग्थ्यो । तर साथी पाउँदैनथिन् । गाउँकै स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्दै गरेकी उनी फुटबल खेल्ने र खेलाडी बढ्ने संकल्पका साथ विगत डेढ महिनादेखि हुम्ला फुटवल एकेडेमीमा आवद्ध भएकी छिन् । उनी भन्छिन्,‘गाउँघरमा केटी मान्छेलाई फुटबल खेल्न अझै दिइदैँन । यो त केटाले खेल्ने खेल हो भन्ने सोच छ । अहिले डेढ महिनादेखि म क्लवमा आवद्ध भएको छु ।’ उनी फुटवल खेल्नका लागि हरेक दिन बिहान ६ बजेदेखि नै खेलकुद मैदानमा पुगि सकेकी हुन्छिन् भने हरेक दिन साँझ पाँच बजे फुटवल खेल्नकै लागि आइपुगेकी हुन्छिन् । एकेडेमीमा आवद्ध हुन घरपरिवारको समेत साथ रहेको उनी बताउँछिन् । आफ्नो पढाइसँगै खेलकुदलाई पनि अगाडि बढाएकी लामा भविष्यमा राम्रो खेलाडि बढ्ने लक्ष्य रहेको बताउँछिन् ।

सोनाम जस्तै १५ वर्षीया इंकित लामा पनि एकेडेमीमा आवद्ध भएको डेढ महिना पूरा हुन लागेको छ । आफुलाई फुटवलप्रति सानै देखि रुची भएकै कारण आफु एकेडेमीमा आवद्ध भएको उनी बताउँछिन् । कक्षा १० मा पढ्दै गरेकी उनले एकेडेमीमा आवद्ध भएपछि फुटवलका विषयमा धेरै नियमहरु थाहा पाएको बताउँछिन् । उनी भन्छिन्, ‘बाहिर पनि फुटवल त खेलिन्थ्यो तर नियम विना नै खेलिन्थ्यो । यहाँ आवद्धभएपछि धेरै कुरा सिकिएको छ ।’

हुम्ला चंखेली गाउँपालिका वडा नं १ का १६ वर्षीय ज्वाकोविन बुढा पनि क्लवका आवद्ध भएको साढे १ महिना पूरा हुन लागेको छ । उनी प्रत्येक दिन पौन ५ बजे फुटवल खेल्नका लागि क्लवमा पुगि सक्छन् । उनी भन्छन्, ‘बाहिर पनि फुटबल खेल्थ्यौँ । बेला बेलामा पैसा जित्ने म्याच हुन्थ्यो । सहभागि भइन्थ्यो । तर खासै नियम केहि पनि थाहा थिएन । तर अहिले सिस्टमेटिक तरिकाले सिक्न पाइएको छ । भविष्यमा राम्रो खेलाडी बन्ने सपना छ । कोचहरुले खेल मनपराएर सर्पोट दिइराख्नुभएको छ । अब लिगहरुमा खेल्ने कुरा पनि छ ।’

भौगोलिक रुपमा विकट हुम्लाका बालबालिका एवं किशोर किशोरीहरु यतिबेला खेल क्षेत्रबाटै चिनिने अठोटका साथ एकेडेकीमा आवद्ध हुन थालेका छन् । जिल्लामै अग्लो स्थानमा रहेको २९ सय १० मिटर सिमिकोट खेल मैदानमा प्रशिक्षण गराइएको छ ।

४ देखि १६ वर्षसम्मका आवद्ध

हुम्ला फुटवल एकेडेमिमा ४ देखि १३ वर्ष, सिनियरतर्फ १४ देखि २२ वर्षसम्मका बालबालिकाहरु आवद्ध भएका छन् । गएको साउनबाट स्थापना भएको एकेडेमी ३ जना केटीहरुबाट शुरु भएकोमा हाल ७० जना पुगेका छन् । जुनियरतर्फ १० जना बालबालिकाबाट शुरु भएकोमा १ सय २६ जना आवद्ध भएका छन् भने सिनियर टिममा ७ जनाबाट शुरु भएकोमा हाल ५५ जना आवद्ध छन् ।

साथी–साथीको सहयाेगबाट शुरु भयो एकेडेमी

आफ्नो जन्मभूमिका केहि गरौँ उदेश्यका साथ हुम्ला एकेडेकीको स्थापना भएको हो । क्लवका अध्यक्ष विष्णु रावतले जिल्लाको खेलकुदको विकासका लागि केहि गरौँ भनेर सरकारी सहयोग बिना नै एकेडेमी स्थापना गरेको बताए । उनले भने,‘साथीहरुको समूहरुबाट पाँच हजार, ४ हजार रुपैयाँ उठाएर क्लवको स्थापना गरेका हौं ।’

क्लवको ४ सदस्यीय कार्य समिति समेत बनेको छ । कार्य समितिमा अध्यक्ष विष्णु रावत रहेका छन् भने उपाध्यक्षमा प्रिति राउत, सचिवमा बुद्धि रोकाय, सदस्यमा रविन कुमार बस्नेत रहेका छन् । आगामी दिनमा क्लवको समितिलाई बढाएर १७ सदस्यीय बनाउने तयारी गरिएको अध्यक्ष रावतले बताए । क्लवले हुम्ला जिल्लाबाट राम्रो खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको अध्यक्ष रावतको भनाइ छ । उनले भने, ‘हामीले यहाँ खेलाडी उत्पादन गरेर काठमाडौं राष्ट्रिय क्लव टिममा समावेश गराउने लक्ष्य राखेका छौं । हामीले हुम्ला जिल्लाको प्रतिनिधित्व गराउनेछौं ।

यस्तै एकेडेमीलाई फन्फाबाट २० वटा फुटवल र २७ थान टिसर्ट प्राप्त भएको अध्यक्ष रावतले बताए । यस्तै एन्फाका भुपू कोषाध्यक्ष एवं काठमाडौं फुटवल संघका अध्यक्ष विराजजंग शाहीले ८० थान जर्सी सहयोग गरेका छन् । यसैगरी काठमाडौं राजविक्रम विग्रेट व्याइज क्लवका सदस्यहरुले पनि गोलकिपिङ पन्जा सहयोग गरेका छन् ।

उत्कृष्ट प्रशिक्षण

लामो समयदेखि खेल क्षेत्रमा रुचि राखेका खेलाडीहरुलाई यतिखेर एकेडेमीमा आवद्ध प्रशिक्षकहरुले प्रशिक्षण गराई रहेका छन् । एकेडेमीमा फिफा ग्रास हुट लाइसेन्स प्राप्त मदन बुढा थापा, स्थानीय कोचमा धिरज रोकाय, पवन रोकाय, विसाल रावत, प्रिति राउत र उज्वल रावतले प्रशिक्षण दिइ रहेका छन् ।

उपमेयर कपको तयारी

उपमेयरकप २०७८ फुटबल खेलका लागि भाग लिनका लागि अहिले हुम्ला फुटवल एकेडेमीले खेलाडीहरुवलाई प्रशिक्षण दिइरहेको छ । आउँदो कार्तिक ४ गते काठमाडौँमा उपमेयर कप फुटवल हुँदैछ । अहिले उनीहरुलाई अहोरात्र नभनी प्रशिक्षण गराइएको फुटवल एकेडेमीका अध्यक्ष रावत बताउँछन् । यतिखेर ३० जना किशोरीहरुलाई प्रशिक्षण गरिएको छ । सोमध्ये २० जनालाई छनौट गरेर काठमाडौं ल्याइने छ ।
हुम्ला जिल्ला भौगोलिक विकटता हुँदा पनि आफुहरुले धेरै प्रयासका बाबजुत खेलाडीहरुलाई तालिम दिई रहेको वरिष्ठ प्रशिक्षण धिरज रोकाया बताउँछन् ।

यतिखेर जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा पुरुष र महिलाको सिनियर र जुनियर टिम विभाजन गरेर तालिम सञ्चालन गरिएको छ । देश भरिकै ७७ वटा जिल्लाबाट सहभागि हुने सो खेलका लागि हुम्ला जिल्लामा भने सिमकोट गाउँपालिकाको नाममा महिलाको टिम दर्ता गराइएको छ ।


  •  
  •  
  •