मुगु–हुम्लाको सम्झनामा अल्झिएको मन

247
  •  
  •  
  •  

मुगुमा केहि समय बसेर काठमाडौं फर्केको दिन मनलाई साह्रै रमाइलो लाग्यो, खिन्न लाग्यो, अचम्म लाग्यो ।
खैँ कस्तो लागेको हो यो मन पनि । मेरो मनले ठम्याउन सकिरहेको थिएन ।
त्यसैले मन न त खुसि थियो । न त दुःखि नै ।

तर मुगु–हुम्लाका दिदी–बहिनी, दाजु–भाई, त्यहिँ गाउँमा बनेका साथीभाई अनि बच्चा–बच्चीहरुले दिएको न्यानो माया र मेरो अफिसका केहि प्रिय साथीहरुलाई अझैँ नजिकबाट चिन्न पाएको अनौठो मौका ।

मनका कुराहरु साटासाट गर्न जुरेको त्यो अमुल्य समय । थाहै नपाई उनीहरुबाट बटुलिएर संगालिएका सबै प्रेरणा र मेरा निम्ति कहिल्यै बिर्सिन नसक्ने ती अति मिठा सम्झनाहरुले मनको घैलो भने हर्षले टम्मै भरिएको थियो ।
बुधबारको दिन म काठमाडौंको अफिसमा हाजिरी भए ।

आँधि मन मुगु–हुम्लातिरै अझै रोमलिँदै थियो । बाँकि मनलाई भने काम गरेको जस्तो बहानामा भुलाइरहेको थिए ।
मन न त पुरै काठमाडौंको सहरमा ढल्किन सकिरहेको थियो । न त मुगु–हुम्लाको यादहरुलाई थम्याएर अघि नै बढ्न सकेको थियो ।

बिस्तारै–बिस्तारै फेरि पुराना दिनचर्याहरुमा आफूलाई लैजाने प्रयास गर्दै गर्दा, शुक्रबारको दिन अफिसबाट शंखर होटेलमा हुन गइरहेको अन्तर्राष्ट्रिय ‘विज्ञान प्रविधि, इन्जिनियरिङ र गणितमा महिला'(Women in Science Technology, Engineering & Maths) कन्फिरेन्समा जानुपर्ने भयो ।

बिहान उठेर भएभरका लुगाहरुबाट आफूलाई स्मार्ट देखिने ड्रेस छान्दा–छान्दै समय बितेछ ।
हतारिँदै कन्फिरेन्स हल पुगे ।

मुगु–हुम्लामा त न कहिल्यै हतार भएको थियो । न लुगा छान्नलाई समय नै खर्चिनुपरेको थियो । जस्तो लगाएपनि आफु राम्रो लाग्थ्यो ।

कन्फिरेन्समा आफ्नो पेपर प्रिजेन्टेसन गर्न देशविदेशबाट आएका महिलाहरुलाई देख्दा र उनीहरुको त्यो कला देख्दा मेरो मनमा सयौँ प्रश्नहरु उब्जिएका थिए । उनीहरुलाई सोध्न मन थियो, तिमिहरुलाई यस्तो बन्न कति वर्ष लाग्यो भनेर ।
कन्फिरेन्समा अझैँ प्रस्तुतिहरु मुल्यांकन गर्ने हो भने त हाम्रो नेपाली दिदीहरुको नै धेरै विशेष र उत्कृष्ट लागेको थियो ।
हाम्रो नेपालमा पनि यस्तो मान्छेहरु छन् है जस्तो महसुस भएको थियो ।

माथिबाट नै भगवानले सिकाएर पठाएको जस्तो सुनिन्थ्यो उनीहरुले बोल्दा प्रयोग गर्ने हरेक शब्दहरु ।
पहिलो पटक भेटेको भएपनि, हाम्रो नेपाली दिदीहरुको मिजासिलोपनले गर्दा धेरै समयदेखि उनीहरुसँग चिनजान छ जस्तो अनुभूति भइरहेको थियो ।

सँगै बसेकी नविना दिदी र म कुरा गर्दै थियौँ ।
कुनै दिन हामी पनि उनीहरु जस्तै बन्न सक्छौँ कि सक्दैनौँ होला ।

संसार नै बिर्साइदिने उनीहरुको आवाज जस्तै हाम्रो पनि होला कि नहोला भन्दै उनीहरु जस्तै बन्ने रहरको भारीले मलाई पुरै छोपेको थियो ।

त्यो आवाजहरु पुरै संगीतका धुन जसरी गुन्जिरहेका थिए, एउटै शब्दहरु खेर जान नदिइ उनीहरुलाई म सुन्दै थिएँ, पच्छ्याउँदै थिए ।
एकछिनका लागि मैले बाहिरी संसार पुरै भुलिरहे । सम्झनाका लागि भनेर थुप्रै तस्बिरहरु खिचेर घर लिएर आए ।

बेलुकी आमालाई कन्फिरेन्सको तस्बिरहरु देखाउँदै गर्दा मेरो मनमा चिसो पस्यो । मुगुकी ती एउटी दिदीले भनेको कुरा सम्झिए । ‘तिम्रो काठमाडौँमा हामी जस्तै दु:खि मान्छेहरु पनि बस्छन् ?’

मैले उनीलाई जवाफ दिन सकिँन । अर्की भर्खरकी दिदीको फोटो खिच्नलाई भनेर अनुमति लिँदा उनले भनिन्, ‘हाम्रो फोटो खिचेर तिमि के गर्छौ ? तिम्रो ठाउँमा लगेर देखाउँछौ ? तिनीहरुले हामी दुःखी फोहोरिको फोटो हेर्न रुचाउँछन् ? उनको फोटो फेसबुकमा राख्न बाहेक अरु खै के गर्छु, मसँग उत्तर नै नभएको प्रश्नहरु सोध्दै थिए ।

यी दिदीहरु मलाई । अर्की बहिनीको फोटो खिच्दा नजिकै बसेकी एउटी आमाले भन्दै थिइन्, ‘उसलाई कति गार्हो छ, दुःख छ, फोटो मात्र नखिच, सहयोग पनि गर, तिमीहरु त फोटोमात्र खिच्ने हाै‌ ।’ खिचिसकेको फोटोलाई मैले मेटाउन सकिन अनि ‘फोटो खिचेको बापत म उनलाई सहयोग गरौँला, तिमी चिन्ता नगर न’ भन्नलाई मेरो बोलि फुटेन ।

पुनः प्रयोगजन्य सेनेटरी(Reusable Sanitary)  एवं बनाउने तालिमको हलमा उनीहरु रमाउँदै, हाँस्दै (कैँची, सियो, धागो चलाउँदै थिए । त्यो भिडमा म आफू भने हराउँदै गए । उनीहरुले भनेका शब्दहरु मेरो मनमा अड्किएर बसिरहे, त्यसैले हो कि उनीहरुसँग मैले हाँसो साट्न सकिरहेको थिइन ।

कति दिदीबहिनिहरु जसले महिनाबारी हुँदा जीवनमा आफूले न कहिल्यै प्याड प्रयोग गरे । न कहिल्यै कपडा नै । तिनै मध्ये कोहि रमाएर भन्दै थिए, ‘अर्को महिना देखि त आफूले बनाएको प्याड प्रयोग गर्ने हो ।’
उनीहरुको त्यो रमाइलोपनमा पनि खोइ किन हो म भिज्न सकिन ।

म त कति असन्तुष्टी मान्छे, उनीहरुले हाम्रो लागि भनेर देउडा गीत गाउँदा पनि, म मनबाट हाँस्न सकिरहेको थिइन। म कुन संसारमा छु, कुन मानिसहरुसंग म कुरा गर्दै छु, जबकी मैले उनीहरुको जीवनमा केहि फरक ल्याउन सक्दिन भने फेरिपनि म उनीहरुको कथा र बेथाहरुलाई किन कोटट्याउँदै छु भन्दै यस्तै यस्तै कुराहरुले म आँफै सँग दिक्क मान्दै थिए ।

त्यहाँ नगएको भए, उनीहरुलाई नभेटेको भए, मेरो एकोहोरो सुख र दुःखमा रमाउँदै म आफ्नो बाटो लागिरहेको हुन्थे ।
‘काठमाडौं गएर भन्दिनु, बिहान बेलुकाको छाक टार्न सक्ने दिगो रोजगारी दिनु रे भनेर ‘बेलायत सरकारको RAP त अर्को वर्ष सिधिन्छ रे नेपाल सरकारको RAP पठाईदिनु भन्नु ।

बिहानको छाक मात्र खान्थ्यौँ भने आजभोली त बेलायतको मान्छे आए देखि बेलुकाको छाक पनि टार्न सक्ने भएका छौँ उनीहरु गए पछि फेरि पनि त्यस्तै त हुने होला, त्यस्तो हुन नदिनु रे भन्दिनु…।

म सुनिरहे ।

उनीहरुले म प्रति देखाएका असाहरुलाई निरासामा बदल्दिने तितो बोलि मलाई बोल्न मन लागेन । उनीहरु एकोहोरो बोलिरहेका थिए । म मौन रहेको देखेर कस्तो केहि नबोलेको होला भने जस्तो मुहार उनीहरु बनाउदै थिए ।

मुगुको त्यो तालिम हल र संखर होटलको कन्फिरेन्स हल, आकाश र पातल झैँ भिन्न थिए । मुगुको त्यो भिडले मलाई तिमि केहि गर्नु है भनेर एउटा बोक्न नसक्ने आशाको भारी बोकाएर पठाउँदै थियो भने संखरहलको त्यो भिडले मलाई आशाको डोरी नछोडी उकालोमा आफूलाई तान्ने प्रयास गर्नु है भनेर सिकाउदै थियो ।

मलाई यतिबेला ठुलो नदिको बिचमा आफु अड्किरहेको आभास भइरहेको छ, न त फर्केर वारी किनारमा नै आउन सकेको छु न पारि तरेर एउटा बाटो समाउन नै सकेको छु । थोरै पाइला चाल्न खोज्दा लड्ने होकी भनेर धेरै धेरै डर मान्दै छ ।
मुगु–हुम्लामा मानिसहरुले जुन तरिकाले जीवन जिउँदै छन्, म कुनै मुल्यांकन गर्न चाहन्न । कतिपयलाई बिहान बेलुकाको छाक टार्नु नै जीवनको लक्ष्य रहेछ र उनीहरु त्यहि लक्ष्य पुरा गर्नमा ब्यस्त छन् ।

हामी कोहिले पो त्यो बाहेक पनि अर्को संसार छ है भनेर बुझेका छौँ हौला र त अर्को चरणको सफल्ता हाँसिल गर्न मरिमेटी दुःख गरेका हौला । उनीहरुको दुःख ठूलो हो कि हाम्रो दु:ख, त्यो पनि मलाई दाज्नु छैन । हामी नै उस्ता हौकी, हामीले बनाएको सरकार उस्तो हो, त्यसमा चाहिँ मलाई मुल्यांकन गरेर जरै देखि दाज्न मन छ।

म पनि आफ्नै खाले सुख र दु:ख ले भरिएको संसारमा हराउँदै छु । कसैको निम्ति मैले गर्न सकुला नसकुला तर मुगुका ती आवाजहरु काठमाडौँ पुगेर सुनाइदिनु भन्ने हरुको आवाज म कहाँ सुनाउन जाने हो, त्यो सम्बन्धित निकाय कुन हो, मलाई बताईदिने कोहि भएन । त्यसैले यसै ब्लग मार्फत ती आवाजहरु सुनाइदिने प्रयास गरेको छु। ती आवाजहरुलाई यहाँ बिसाउदै मनको भारी हलुङ्गो पार्दैछु ।

ती आवाजहरु सुनिदिने सबैको भलो होस्, भरिपूर्ण होस् ।


  •  
  •  
  •