हुम्ला दुर्घटना : अझै फेला परेन जीप र यात्रु

208
  •  
  •  
  •  

काठमाडौं । हुम्लामा मंगलबार अपराह्न दुर्घटना भएको जीप अझै फेला पर्न सकेको छैन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नम्बरको जीपको खोजीमा चितवनको कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बलका निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली बुधबार घटनास्थल पुगेको थियो ।

प्रतिकात्मक तस्बिर

तर पानीको बहाव बढी भएकाले नदीमा बेपत्ता जीप पत्ता लगाउन समस्या भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

जीप बुधबार साँझसम्म खोजीकार्य भएको थियो । आजपनि बिहानैदेखि खोजी कार्य चलिरहेको प्रजिअ पोखरेलले बताए ।

स्थानीयवासीले जीप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला नदी किनारमा फेला पारेका छन् ।

दुर्घटनामा परेकी उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ नगद, नागरिकता, अन्य कागजात फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष शाहीसहित उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह हराई रहेका छन् ।

यसैगरी खार्पुनाथ गाउँपालिका–१ काकौर कामी र उनको दुई वर्षको बालकसमेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन् तर उनको परिचय खुल्न सकेको छैन ।


  •  
  •  
  •