काठमाडौं, २४ असार (ओएनएस) राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकका अधिकार रक्षाका लागि पहल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको छ ।
आयोगले मन्त्रीपरिषद कार्यालयलाइ पत्र लेख्दै ज्येष्ठ नागरिकहरूले पाउँदै आएका सामाजिक सुरक्षा भत्ता जीवन निर्वाहका लागि उपयुक्त हुने गरी बढाउँदै लैजान पत्रमा आग्रह गरेको हो ।
विभिन्न कारणले परिवार बाहिर रही वृद्धाश्रम तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूले उक्त भत्ता सजिलै प्राप्त गर्ने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाइ भनेको छ ।
‘ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०६३’ बमोजिम ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधन, स्वास्थ्य सेवा, धार्मिक तथा सामाजिक स्थल, खानेपानी, विद्युत, टेलिफोनलगायतका सार्वजनिक सेवामा पाउनुपर्ने सहुलियतसम्बन्धी व्यवस्थाको कार्यान्वयन भए–नभएको बारे प्रभावकारी रूपमा अविलम्ब अनुगमन गर्न आवश्यक छ’ आयोयले सरकारलाइ पठाएको पत्रमा उल्लेख छ ।