काठमाडौँ, २४ मंसिर(ओएनएस) : नेपालस्थित भारतीय दूतावास अगाडि धर्नामा बसेका कृष्ण पहाडीसहित करिब ३ दर्जन मानवअधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
६७ औ विश्व मानव अधिकार दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजद्वारा ‘नाकाबन्दी मानवता विरुद्धको अपराध हो, नाकावन्दी मानव अधिकारमाथि कुठाराघात हो’ भन्ने मुलनारा सहित संचालित १० दिवसीय विशेष अभियानको क्रममा १० डिसेम्बर (२४ मंसिर) मा काठमाडौँस्थित भारतीय दुतावास अगाडी आयोजित धर्नाबाट प्रहारीले ३ दर्जन अधिकारकर्मीहरुलाई पक्राउ गरेको हो ।
भारतले लगाएको नाकावन्दीका कारण नेपाल र नेपाली नागरिकको मानव अधिकार कुण्ठित हुन पुगेको भन्दै भारतलाई नाकावन्दी तत्काल अन्त्य गर्न आग्रह सहित मानवअधिकार तथा शान्ति समाजको आव्हानमा धर्ना आयोजना गरिएको थियो ।
दिउँसो १ बजे निर्धारित धर्ना भए लगत्तै प्रहरीले समाजका सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, कवि अर्जुन पराजुली, समाजका महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेललगायतका अधिकारकर्मीहरूलाई पक्राउ गरिएको समाजले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । पक्राउ गरिएका सबैलाई २ नम्बर प्रहरी गण रानीबारीमा राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।